गान्तोकमा पाँचौँ पूर्वोत्तर मास्टर्स टेबल टेनिस च्याम्पियनसिप २०२६ शुरु
गान्तोकमा पाँचौँ पूर्वोत्तर मास्टर्स टेबल टेनिस च्याम्पियनसिप २०२६ शुरु


गान्तोक, 27 नोभेम्बर (हि.स.)। सिक्किम टेबल टेनिस भेट्रन्स एसोसिएसन (एसभीटीटीए) को आयोजनामा पाँचौँ पूर्वोत्तर मास्टर्स टेबल टेनिस च्याम्पियनसिप २०२६ आज गान्तोकस्थित पाल्जोर स्टेडियमको इन्डोर हलमा उद्घाटन गरिएको छ। तीनदिने प्रतियोगिता आगामी २८ नोभेम्बरसम्म सञ्चालन हुनेछ।

उद्घाटन समारोहमा सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागकी सचिव मुख्य अतिथि तथा स्टेट ब्याङ्क अफ सिक्किमका प्रबन्ध निर्देशक फुर्बा वाङ्दी भोटिया विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। यसका साथै विभिन्न विभागका निर्देशक, पाल्जोर स्टेडियमका उपनिर्देशक तथा सिक्किम टेबल टेनिस भेट्रन्स एसोसिएसनका सदस्यहरूको पनि उपस्थिति थियो।

प्रतियोगितामा पूर्वोत्तरका आठवटै राज्यबाट महिला तथा पुरुष गरी कुल १६५ खेलाडीले नाम दर्ता गराएका छन्। सहभागीमध्ये ४० देखि ७० वर्ष उमेर समूहका १५२ जना भेट्रन खेलाडी रहेका छन्। प्रतियोगितामा मणिपुरबाट सबैभन्दा ठूलो टोली सहभागी भएको छ, जसमा ४५ जना भेट्रन खेलाडी रहेका छन्।

यस प्रतियोगिताले अनुभवी टेबल टेनिस खेलाडीहरूलाई आफ्नो खेल प्रतिभा प्रदर्शन गर्ने, शारीरिक तन्दुरुस्ती कायम राख्ने तथा स्वस्थ र सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्ने महत्त्वपूर्ण क्षेत्रीय मञ्च प्रदान गरेको छ। साथै खेल भावनामार्फत पूर्वोत्तरका आठवटै राज्यबीच मित्रता, एकता र आपसी सद्भाव सुदृढ बनाउनु पनि प्रतियोगिताको उद्देश्य रहेको छ।

सिक्किम टेबल टेनिस भेट्रन्स एसोसिएसनले राज्यमा टेबल टेनिस खेलको प्रवर्द्धनका लागि सहयोग र प्रोत्साहन प्रदान गरेकोमा सिक्किम सरकार, विशेषगरी खेलकुद तथा युवा मामिला विभागप्रति आभार व्यक्त गरेको छ। एसोसिएसनले प्रतियोगितालाई सफल बनाउन योगदान पुर्‍याउने सहभागी राज्यका खेलकुद सङ्घ, अधिकारी, विशिष्ट अतिथि, प्रायोजक तथा सहयोगीहरूप्रति पनि कृतज्ञता व्यक्त गरेको छ।

यस च्याम्पियनसिपले पूर्वोत्तरका राज्यहरूबीचको खेलकुद सम्बन्धलाई थप मजबुत बनाउनुका साथै भेट्रन खेलाडीहरूको टेबल टेनिसप्रतिको सहभागिता र रुचि अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande