
- आठवटै पूर्वोत्तर राज्यका जनजातीय समुदायको मौलिक खानपान, परम्परागत हस्तकला र सांस्कृतिक विविधताको प्रदर्शन
गान्तोक, 27 नोभेम्बर (हि.स.)। सिक्किम सरकारको सामाजिक कल्याण विभागको आयोजनामा पहिलोपटक तीनदिने ‘पूर्वोत्तर जनजातीय खाद्य तथा हस्तकला महोत्सव २०२६’ आज गान्तोकस्थित रिज पार्कमा उद्घाटन गरिएको छ। २७ देखि २९ नोभेम्बरसम्म सञ्चालन हुने यस महोत्सवमा पूर्वोत्तर भारतका आठवटै राज्यका प्रतिनिधिहरू सहभागी भएका छन्।
सामाजिक कल्याण विभागअन्तर्गत जनजातीय अनुसन्धान संस्थान (टीआरआई), सिक्किमले भारत सरकारको जनजातीय मामिला मन्त्रालयको सहयोगमा आयोजना गरेको यस महोत्सवको उद्देश्य जनजातीय समुदायका मौलिक खाद्य परम्परा, परम्परागत हस्तकला, सांस्कृतिक सम्पदा तथा आदिवासी ज्ञान प्रणालीको संरक्षण र प्रवर्द्धन गर्नु हो। यसले परम्परागत कारीगर, शिल्पकार, खाद्य परिकारका जानकार तथा उद्यमीहरूलाई आफ्ना उत्पादन प्रदर्शन गर्ने साझा मञ्च प्रदान गर्नुका साथै दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।
उद्घाटन समारोहमा सामाजिक कल्याण विभागअन्तर्गत आदिम जनजाति कल्याण बोर्डका अध्यक्ष छेवाङ नर्बु लेप्चा मुख्य अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा विभिन्न विभागका प्रमुख, भारत सरकारको जनजातीय मामिला मन्त्रालयका प्रतिनिधि, मिजोरम, मणिपुर र मेघालयका जनजातीय अनुसन्धान संस्थानका वरिष्ठ अधिकारी तथा प्रतिनिधिहरूलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि छेवाङ नर्बु लेप्चाले पूर्वोत्तर भारतका मौलिक खाद्य परम्परा, हस्तकला र सांस्कृतिक सम्पदा प्रदर्शन गर्ने उद्देश्यले सिक्किममा पहिलोपटक यस्तो महोत्सव आयोजना गरिएकोमा खुशी व्यक्त गरे। उनले जनजातीय परम्परा, मौलिक ज्ञान तथा परम्परागत शिल्पकलाको संरक्षण गर्नुपर्ने आवश्यकतामाथि जोड दिँदै विभिन्न समुदायको सांस्कृतिक पहिचान प्रवर्द्धन गर्न राज्य सरकारले गरिरहेका प्रयासको प्रशंसा गरे।
सामाजिक कल्याण विभागकी सचिव सारिका प्रधानले पूर्वोत्तरका आठवटै राज्यलाई एउटै मञ्चमा ल्याएर सांस्कृतिक आदानप्रदान र पारस्परिक सिकाइको अवसर प्रदान गर्नु यस महोत्सवको महत्त्वपूर्ण पक्ष रहेको बताइन्। उनले जनजातीय समुदायका मौलिक ज्ञान प्रणाली, परम्परागत खाद्य संस्कृति, हातकरघा, बाँस तथा बेतका सामग्री, काष्ठकला र परम्परागत गरगहनाको संरक्षण गर्नुपर्नेमा जोड दिइन्। यस्ता ज्ञान र सीपलाई अभिलेखीकरण गरी नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु आवश्यक रहेको बताउँदै उनले सांस्कृतिक संरक्षणलाई उद्यमशीलता र दिगो जीविकोपार्जनसँग जोड्नुपर्ने उल्लेख गरिन्।प्रमुख अतिथि तथा अन्य विशिष्ट व्यक्तिहरूले महोत्सवमा राखिएका विभिन्न प्रदर्शनी कक्षहरूको अवलोकन गर्दै सहभागी पूर्वोत्तर राज्यका मौलिक खाद्य परिकार, हस्तकला तथा स्वदेशी उत्पादनबारे जानकारी लिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल