
पाकिम, २७ नोभेम्बर (हि.स.)। सिक्किमलाई राष्ट्रिय रेल सञ्जालसँग जोड्ने महत्त्वपूर्ण सेवक-रम्फू नयाँ ब्रोडगेज रेलमार्ग परियोजनाअन्तर्गत मामखोलास्थित सुरुङ नम्बर १० को ब्रेकथ्रु समारोहमा पाकिमकी जिल्लापाल परी विष्णोई सहभागी बनिन्। यस अवसरमा पूर्वोत्तर सीमान्त रेलवेका महाप्रबन्धक (निर्माण) आशीष बन्सलको पनि उपस्थिति रहेको थियो।
५ हजार ३०० मिटर लम्बाइ रहेको उक्त सुरुङ पश्चिम बङ्गाल र सिक्किमलाई जोड्ने सेवक- रम्फू रेलमार्ग परियोजनाको महत्त्वपूर्ण हिस्सा हो। समारोहमा परियोजनासँग सम्बन्धित विभिन्न अधिकारी, इन्जिनियर तथा प्रतिनिधिहरू उपस्थित थिए।
सुरुङको ब्रेकथ्रु सम्पन्न हुनु सेवक-रम्फू रेलमार्ग निर्माण कार्यको महत्त्वपूर्ण चरण मानिएको छ। यस रेलमार्गले सिक्किमलाई राष्ट्रिय रेल सञ्जालसँग जोड्नुका साथै पश्चिम बङ्गाल र सिक्किमबीच रेल यातायातको सुविधा विस्तार गर्ने अपेक्षा गरिएको छ।
----------
हिन्दुस्थान समाचार / बिशाल