विद्या भारती उत्तर बंग प्रान्तद्वारा बालिका शिक्षासम्बन्धी दुई दिने कार्यशाला सम्पन्न
विद्या भारती उत्तर बंग प्रान्तद्वारा बालिका शिक्षासम्बन्धी दुई दिने कार्यशाला सम्पन्न


सिलगढी, २७ नोभेम्बर (हि.स.)। विद्या भारती उत्तर बंग प्रान्तको आयोजनामा बालिका शिक्षाका विभिन्न आयाम, कार्यक्रम तथा गतिविधिबारे केन्द्रित दुई दिने कार्यशाला सम्पन्न भएको छ। गत २५ र २६ नोभेम्बर, २०२६ मा सिलगढीस्थित उत्तर बंग प्रान्तीय कार्यालय ‘शताब्दी सदन’ मा आयोजित कार्यशालामा बालिका शिक्षाको विस्तार, आगामी कार्ययोजना तथा सङ्गठनात्मक संरचनालगायतका विषयमा विस्तृत छलफल गरियो।

कार्यशालामा मातृशक्तिको नेतृत्व विकास, समाजकेन्द्रित कार्यक्रम, पर्यावरण संरक्षण, स्वदेशी अभियान, स्वास्थ्य, आत्मनिर्भरता, नशामुक्त समाज तथा पारिवारिक जागरणजस्ता विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।

आफ्ना शिशु मन्दिरमार्फत विद्यालयमा आबद्ध मातृशक्ति, समाजमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका विशिष्ट महिला तथा शैक्षिक एवं सामाजिक सङ्घसंस्थालाई समेटेर बालिका शिक्षाको अभियानलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।

यसका साथै आगामी दिनमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने, योजना निर्माण गर्ने तथा सम्बन्ध विस्तार गर्ने विषयमा विचारविमर्श गरिएको प्रचार विभागले जानकारी गराएको छ।

कार्यशालामा विद्या भारती बालिका शिक्षाकी अखिल भारतीय संयोजिका रेखा चुडासमा तथा अखिल भारतीय सहमन्त्री पवित्रा दाहालले मार्गदर्शन प्रदान गरेका थिए। कार्यक्रममा प्रान्तीय सङ्गठनमन्त्री रमाकान्त महन्तलगायत अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

आयोजकका अनुसार, बालिका शिक्षाको विस्तार तथा यससम्बन्धी गतिविधिलाई समाजको तल्लो तहसम्म पुर्‍याउने उद्देश्यले आयोजित कार्यशाला सार्थक रूपमा सम्पन्न भएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande