टेक महिन्द्राका एशिया प्रमुखको फरीदाबादमा गोली हानी हत्या
मृतक परमजीत धनखड़ का फाइल फोटो


फरीदाबाद, ०७ नोभेम्बर (हि.स.)। हरियाणाको फरीदाबाद जिल्लाको सेक्टर-२१सी मा पार्किङ विवादलाई लिएर टेक महिन्द्रा कम्पनीका एशिया प्रमुख परमजीत धनखड़को गोली हानी हत्या गरिएको छ। उनका छिमेकी मोनु शर्माले आफ्नो लाइसेन्स प्राप्त पेस्तोलबाट उनीमाथि लगभग १५ राउन्ड गोली चलाएको आरोप छ। परमजीतलाई नौ वटा गोली लागेको थियो र घटनास्थलमै उनको मृत्यु भयो। पुलिस अनुसार, दुवै परिवारबीच कुकुरलाई पार्किङ क्षेत्रमा दिसा गराउने तथा गाड़ी पार्क गर्ने विषयलाई लिएर लामो समयदेखि विवाद चलिरहेको थियो।

पुलिस अनुसार, परमजीत ०५ नोभेम्बरमा सिंगापुरबाट आफ्नो घर फर्केका थिए। उनी भान्जाको विवाहमा सहभागी हुन आएका थिए, जुन २४ नोभेम्बरमा हुँदैछ। शुक्रवार राति जिमबाट फर्केपछि पार्किङमा गाड़ी राख्ने विषयलाई लिएर उनको मोनुसँग विवाद भयो। परमजीतले आफ्नो निर्धारित पार्किङ स्थलमा राखिएको मोनुको गाड़ी हटाउन भनेका थिए। यही विषयमा दुवैबीच भनाभन बढ्दै गयो। आरोप छ, मोनु आफ्नो लाइसेन्स प्राप्त पेस्तोल लिएर त्यहाँ पुगे र परमजीतमाथि लगातार गोली प्रहार गरे।

सूरजकुण्ड थाना प्रभारी प्रह्लाद अनुसार, सेक्टर-२१सी स्थित भवन नम्बर ६४१ को पहिलो तलामा परमजीतको परिवार बस्दै आएको थियो। आरोपी मोनुको परिवार भने तेस्रो तलामा बस्दै आएको थियो। यी दुवै परिवारबीच लामो समयदेखि विवाद चलिरहेको थियो।

प्रह्लादले बताए अनुसार, मोनुको छोराले आफ्नो कुकुरलाई पार्किङ क्षेत्रमा दिसा गराउने गर्थे। परमजीतका छोरा शौर्याले प्रायः यस विषयमा आपत्ति जनाउने गर्थे। यही विषयलाई लिएर चार-पाँच दिनअघि शौर्या र मोनुबीच पनि भनाभन भएको थियो। यद्यपि, प्रत्येक पटक विवाद समाधान हुँदै आएको थियो।

परमजीत कामको सिलसिलामा सिंगापुर आवाजाही गरिरहन्थे भने उनको परिवार यहीँ बस्दै आएको थियो। ०५ नोभेम्बरमा उनी सिंगापुरबाट घर फर्केका थिए। घर फर्किएपछि उनले जिम जान समेत शुरु गरेका थिए। शुक्रवार राति जिमबाट घर फर्कने क्रममा पार्किङमा उनलाई छुट्याइएको स्थानमा मोनुको गाड़ी पार्क गरिएको थियो। उनले मोनुलाई गाड़ी हटाउन भनेपछि पुनः विवाद शुरु भयो।

सूरजकुण्ड थाना प्रभारी प्रह्लाद अनुसार, मोनु पार्किङ क्षेत्रमा आफ्नो लाइसेन्स प्राप्त पेस्तोल सहित आए। विवाद बढ़ेपछि उनले पेस्तोल निकालेर परमजीतमाथि लगातार गोली प्रहार गरे। घटनास्थलमै परमजीतको मृत्यु भयो। घटनापछि आरोपी मोनु आफ्नो सम्पूर्ण परिवार सहित फरार भएका छन्।

पुलिस र अपराध शाखाका टोलीहरू उनीहरूको खोजीमा जुटेका छन्।

घटनाको सूचना प्राप्त भएपछि पुलिस, अपराध शाखा तथा फरेन्सिक विज्ञान प्रयोगशाला (एफएसएल) का टोली घटनास्थल पुगे। घटनास्थलबाट गोलीका केही खोका जफत भएका छन्। प्रारम्भिक अनुसन्धानमा लगभग १५ राउन्ड गोली चलाइएको पाइएको छ। पुलिसले शौर्याको उजुरीका आधारमा मुख्य आरोपी मोनु शर्मा उर्फ मोहन, उनकी पत्नी दिव्या, छोरा मयंक, छोरी नैना तथा भाइ हेतराम विरुद्ध मुद्दा दर्ता गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande