
गुवाहाटी, ०८ नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का संस्थापक नेता तथा पूर्व उपप्रधानमन्त्री भारत रत्न लालकृष्ण आडवाणीको १००औँ जन्मदिनका अवसरमा असम प्रदेश भाजपाले उनलाई बधाई तथा शुभकामना दिएको छ। पार्टीले भाजपा स्थापना, सङ्गठन विस्तार, राम मन्दिर आन्दोलन तथा राष्ट्रवादी विचारधारालाई बलियो बनाउन उनले पुर्याएको योगदानको स्मरण गरेको छ।
भाजपा प्रदेश प्रवक्ता प्राञ्जल कलिताले आइतवार जारी गरेको वक्तव्यमा साल १९८४ को लोकसभा निर्वाचनमा केवल दुई सिट जितेको भाजपा आज विश्वकै सबैभन्दा ठूलो राजनीतिक दल बन्नुमा आडवाणीको नेतृत्व र सङ्गठनात्मक क्षमताको महत्त्वपूर्ण भूमिका रहेको बताए।
साल १९९० मा गुजरातको सोमनाथदेखि उत्तर प्रदेशको अयोध्यासम्म निकालिएको उनको ऐतिहासिक राम रथयात्राले राम मन्दिर आन्दोलनलाई देशव्यापी पहिचान दिलाएको उनले बताए। आडवाणीले हिन्दुत्वलाई केवल धार्मिक अवधारणा नभई भारतीय जीवनशैली र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा व्याख्या गरेको पनि वक्तव्यमा उल्लेख छ।
भाजपा प्रदेश अध्यक्ष तथा सांसद दिलीप सैकियाले आडवाणीको स्वस्थ र दीर्घायु जीवनको कामना गर्दै उनको राजनीतिक आदर्श, सङ्गठनात्मक दक्षता र राष्ट्रप्रतिको समर्पण पार्टीका प्रत्येक कार्यकर्ताका लागि प्रेरणास्रोत रहेको बताए।
१५ वर्षको उमेरमै आरएसएससँग जोड़िएका थिए आडवाणी
८ नोभेम्बर १९२७ मा कराँचीमा जन्मिएका आडवाणी सन् १९४२ मा १५ वर्षको उमेरमै राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) सँग जोड़िएका थिए। सन् १९५१ मा भारतीय जनसङ्घ स्थापना भएपछि उनले सङ्गठनमा सक्रिय भूमिका निर्वाह गरे। सन् १९८० मा अटल बिहारी वाजपेयीसँग मिलेर भाजपा स्थापनामा महत्त्वपूर्ण योगदान दिए।
सन् १९९८ देखि २००४ सम्म उनले केन्द्रिय गृहमन्त्रीका रूपमा काम गरे भने सन् २००२ देखि २००४ सम्म देशको उपप्रधानमन्त्री रहे। राजनीतिक योगदानका लागि उनलाई साल २०१५ मा पद्म विभूषण र साल २०२४ मा भारत रत्नबाट सम्मानित गरियो।
असम र पूर्वोत्तरको सुरक्षामा पनि महत्त्वपूर्ण भूमिका
असम आन्दोलनका क्रममा आडवाणी र अटल बिहारी वाजपेयीले अखिल असम छात्र सङ्घ (आसू) को नेतृत्वमा विदेशी नागरिक विरुद्ध भइरहेको आन्दोलनलाई समर्थन गरेका थिए। गृहमन्त्री रहँदा उनले बङ्गलादेशबाट हुने अवैध घुसपैठलाई असमको सुरक्षाका लागि गम्भीर चुनौती बताएका थिए।
उनले भारत-बङ्गलादेश सीमामा तारबार लगाउने कामलाई तीव्रता दिन तथा उग्रवादी गतिविधि नियन्त्रण गर्न जोड दिएका थिए। साल २०१२ मा बोडोल्यान्ड क्षेत्रमा भएको जातीय हिंसापछि उनले कोकराझारको भ्रमण गरी राहत शिविरमा रहेका प्रभावितहरूसँग भेटघाट गरेका थिए।
असममा भाजपाको सङ्गठनात्मक विस्तार तथा क्षेत्रीय दल असम गण परिषद्सँग चुनावी गठबन्धन अघि बढ़ाउन पनि आडवाणीले भूमिका निर्वाह गरेको पार्टीले जनाएको छ। उनको राजनीतिक अनुभव र राष्ट्रवादी विचारधाराले असमसहित सम्पूर्ण पूर्वोत्तर क्षेत्रमा भाजपाको विस्तारका लागि आधार तयार गर्न महत्त्वपूर्ण योगदान पुर्याएको असम भाजपाको भनाइ छ।
हिन्दुस्थान समाचार / भवानी थामी