
नयाँ दिल्ली, ०८ नोभेम्बर (हि.स.)। दिल्ली-एनसीआरमा बढ्दो वायु प्रदूषणलाई ध्यानमा राख्दै डब्ल्यूडब्ल्यूएफ-इण्डियाले यस वर्ष पटेकामुक्त तथा पर्यावरणमैत्री दीपावली मनाउन नागरिकहरूलाई अपील गरेको छ। संस्थाले स्वच्छ हावा, स्वस्थ जीवन र प्रदूषणमुक्त पर्यावरणका लागि ‘हरित दीपावली सङ्कल्प’ लिन आग्रह गरेको छ।
केन्द्रिय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयको सहयोगमा सञ्चालित यो अपील देशव्यापी ‘हरित दीपावली अभियान २०२६’ को हिस्सा हो। २० अक्टोबरदेखि ८ नोभेम्बरसम्म सञ्चालन भइरहेको यस अभियानअन्तर्गत २४ राज्य तथा केन्द्रशासित प्रदेशका १३० शहरमा विशेष ध्यान दिइएको छ।
केन्द्रिय प्रदूषण नियन्त्रण बोर्डका अनुसार, दिल्लीको वायु गुणस्तर हाल ‘अति खराब’ श्रेणीमा रहेको छ। पूर्वानुमानअनुसार, दीपावलीका दिन यो ‘गम्भीर’ श्रेणीमा पुग्न सक्ने आशङ्का छ। यसलाई ध्यानमा राख्दै वायु गुणस्तर व्यवस्थापन आयोगले प्रदूषण नियन्त्रणका लागि विभिन्न उपायहरू लागू गरिरहेको छ।
डब्ल्यूडब्ल्यूएफ-इण्डियाले माटोका दियो तथा पर्यावरणमैत्री मैनबत्ती प्रयोग गर्ने, स्थानीय उत्पादनका उपहार छनोट गर्ने, प्राकृतिक सामग्रीबाट रङ्गोली बनाउने र पुराना सामग्री पुनः प्रयोग गरी सजावट गर्न सुझाउ दिएको छ। साथै, एकपटक मात्र प्रयोग हुने प्लास्टिकबाट टाढा रहन, फोहोर छुट्याएर पुनर्चक्रण गर्न तथा सामुदायिक वृक्षरोपण र सरसफाई अभियानमा सहभागी हुन पनि आग्रह गरेको छ।
संस्थाले आवश्यकतामा परेकाहरूलाई पुराना लुगा तथा उपयोगी घरेलु सामग्री दान गर्न र सम्भव भएसम्म पैदल यात्रा, साइकल तथा सार्वजनिक यातायात प्रयोग गर्न प्रोत्साहित गरेको छ।
नागरिकहरूलाई केन्द्रिय प्रदूषण नियन्त्रण बोर्डको ‘समीर’ एपमार्फत दैनिक वायु गुणस्तरको जानकारी लिन तथा प्रदूषण उच्च रहेको समयमा बाहिर ननिस्कन पनि आग्रह गरिएको छ। साथै, आफ्नो कार्बन उत्सर्जनबारे जानकारी लिन डब्ल्यूडब्ल्यूएफ-इण्डियाको कार्बन फुटप्रिन्ट सर्वेक्षणमा सहभागी हुन अनुरोध गरिएको छ।
अभियानमा सहभागी संस्था तथा समूहहरूले आफ्ना गतिविधिको विवरण, तस्बिर र संक्षिप्त प्रतिवेदन अनलाइनमार्फत बुझाउन सक्नेछन्। उत्कृष्ट विवरणहरू ईआईएसीपीको वेबसाइट तथा सामाजिक सञ्जालमा प्रकाशित गरिने जनाइएको छ।
हिन्दुस्थान समाचार / बिशाल