
नयाँ दिल्ली, ०७ नोभेम्बर (हि.स.)। देशका विभिन्न भागमा मौसमी गतिविधिमा उल्लेखनीय परिवर्तन देखिएको छ। उत्तर भारतमा चिसो र कुहिरोको प्रभाव बढ्दै गएको छ भने दक्षिण भारतमा भारी वर्षाको चेतावनी जारी गरिएको छ। दिल्ली–एनसीआरमा आगामी तीन दिनसम्म बिहानको समयमा कुहिरो लाग्ने अनुमान गरिएको छ।
भारत मौसम विज्ञान विभाग (आईएमडी) अनुसार दिल्ली–एनसीआरमा आगामी ८ देखि १० नोभेम्बरसम्म बिहानको समयमा मध्यमदेखि हल्का कुहिरो लाग्ने सम्भावना छ। यस अवधिमा अधिकतम तापक्रम २६ देखि ३० डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम १३ देखि १६ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ। यसका साथै ११ देखि १३ नोभेम्बरका बीच पश्चिमी विक्षोभको प्रभावका कारण दिल्ली, हरियाणा र पञ्जाबका केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ।
तल्लो वायुमण्डलमा बनेको चक्रवाती परिसञ्चरणको प्रभावका कारण दक्षिण प्रायद्वीपीय भारतमा वर्षाको क्रम जारी रहनेछ। ८ देखि १० नोभेम्बरबीच तमिलनाडु, पुडुचेरी र कराइकलमा तथा ८ नोभेम्बरमा केरल र माहेमा प्रतिघण्टा ३० देखि ५० किलोमिटरको गतिमा तीव्र हावा सहित भारी वर्षा हुने अनुमान गरिएको छ।
त्यस्तै, १० नोभेम्बरदेखि सक्रिय हुने नयाँ पश्चिमी विक्षोभका कारण उत्तर-पश्चिमी हिमाली क्षेत्रमा मौसममा परिवर्तन आउनेछ। १० देखि १३ नोभेम्बरबीच जम्मू-कश्मीर, लद्दाख, हिमाचल प्रदेश र उत्तराखण्डमा वर्षा तथा आँधीबेहरीको सम्भावना छ।
विशेषगरी १२ नोभेम्बरमा कश्मीर उपत्यकाका केही स्थानमा भारी वर्षा वा हिमपात हुन सक्छ।
अण्डमान तथा निकोबार द्वीप समूहमा ८ देखि १३ नोभेम्बरबीच व्यापक वर्षा तथा ९ देखि १३ नोभेम्बरबीच भारी वर्षा हुने सम्भावना छ। यस बाहेक पूर्वोत्तर भारतमा १० देखि ११ नोभेम्बरबीच असम, मेघालय, नागाल्यान्ड, मणिपुर, मिजोरम र त्रिपुराका केही भागमा भारी वर्षा हुने सम्भावना रहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी