

वासिङ्टन, ०७ नोभेम्बर (हि.स.)। अमेरिकाको व्हाइट हाउसमा पनि तिहार पर्व हर्षोल्लासका साथ मनाइएको छ। यस विशेष अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका व्यक्तिहरूसँग ओभल अफिसमा तिहार मनाए। समारोहमा परम्परागत रूपमा दीप प्रज्वलन गरिएको थियो। यसै क्रममा भारतीय टेक उद्यमी विशाल गोण्डलले राष्ट्रपति ट्रम्पलाई हनुमान चालिसाको एक प्रति उपहारस्वरूप प्रदान गरे।
भारतीय प्रविधि उद्यमी तथा जीओक्यूआईआईका संस्थापक विशाल गोण्डलले सामाजिक सञ्जाल एक्समार्फत समारोहका तस्बिरहरू सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पसँग तिहार मनाउन पाउनु आफ्नो लागि सम्मानको विषय भएको बताए। उनले हनुमान चालिसा साहस, भक्ति र शक्तिको प्रेरणा प्राप्त गर्न करोडौँ मानिसले पाठ गर्ने गरेको उल्लेख गरेका छन्।
गोण्डलका अनुसार, ओभल अफिसमा दीप प्रज्वलन गर्ने क्रममा उनले भारत र अमेरिकाबीचको मैत्री सम्बन्ध अझ सुदृढ होस् भन्ने कामना गरे। साथै विश्वमा शान्ति, समृद्धि, उत्तम स्वास्थ्य र दीर्घायुको प्रार्थना पनि गरे।
उनले आफ्नो सन्देशमा भारतीय परम्पराको लोकप्रिय आशीर्वाद ‘जुग-जुग जियो’ को पनि उल्लेख गरेका छन्। यसको अर्थ दीर्घकालसम्म स्वस्थ र सुखी जीवन बिताउनु रहेको उनले बताए।
ह्वाइट हाउसमा आयोजित उक्त तिहार समारोहमा प्रसिद्ध मिशेलिन स्टार सेफ विकास खन्ना, क्यानडाकी पूर्व सांसद रुबी ढल्लालगायत भारतीय मूलका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
ओभल अफिसमा आयोजित यस तिहार समारोहलाई भारत र अमेरिकाबीचको सुदृढ सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा हेरिएको छ। यसले अमेरिकी राष्ट्रपति भवनमा भारतीय संस्कृति, आस्था र परम्पराको सुन्दर झलक प्रस्तुत गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल