स्टारलिङ्कमा हजारौँ नयाँ उपग्रह थपिने, इन्टरनेट क्षमता १०० गुणासम्म बढ्ने : एलन मस्क
सांकेतिक


वासिङ्टन, ०७ नोभेम्बर (हि.स./रिया नोवोस्ती)। विश्वका सबैभन्दा धनी उद्योगपतिमध्ये एक एलन मस्कको कम्पनी स्पेसएक्सले आफ्नो उपग्रहमा आधारित इन्टरनेट सञ्जाल स्टारलिङ्कको व्यापक विस्तार गर्ने तयारी गरेको छ। कम्पनीले नयाँ पुस्ताका हजारौँ उपग्रह अन्तरिक्षमा स्थापना गर्ने योजना बनाएको छ। यसको उद्देश्य तीव्र गतिमा बढिरहेको इन्टरनेटको माग पूरा गर्नुका साथै सञ्जालको क्षमता कैयौँ गुणा वृद्धि गर्नु हो।

स्पेसएक्सका प्रमुख एलन मस्कले लगानीकर्ता रोन ब्यारनसँगको अन्तर्वार्तामा यस योजनाबारे जानकारी दिएका हुन्। उनका अनुसार, हाल अन्तरिक्षमा स्टारलिङ्कका करिब ११ हजार उपग्रह छन्, जसमध्ये अधिकांश दोस्रो पुस्ता अर्थात् भी२ का हुन्। कम्पनीले अहिले तेस्रो पुस्ता (भी३) का उपग्रह प्रक्षेपण गर्न शुरु गरिसकेको छ।

मस्कका अनुसार, स्टारलिङ्क भी३ उपग्रहको क्षमता भी२ को तुलनामा १० गुणाभन्दा बढी हुनेछ। कम्पनीले यस्ता उपग्रहको सङ्ख्या पनि हालको तुलनामा करिब १० गुणासम्म बढाउने योजना बनाएको छ। उनले आगामी दुईदेखि तीन वर्षभित्र स्टारलिङ्कको कुल ब्यान्डविथ हालको क्षमताभन्दा १०० गुणा बढी हुन सक्ने दाबी गरेका छन्। यसले विश्वभर तीव्र र गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ।

मस्कले इन्टरनेटको ट्राफिकमा कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो भूमिकाप्रति पनि चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार, अहिले एआई बोटहरूले मानिसको तुलनामा बढी इन्टरनेट ट्राफिक सिर्जना गरिरहेका छन्। आगामी पाँच वर्षमा यो अन्तर हजारौँ गुणासम्म पुग्न सक्ने उनले बताए।

मस्कले स्टारलिङ्क भी४ उपग्रह विकास गर्ने घोषणा पनि गरेका छन्। उनका अनुसार, यसको क्षमता भी३ भन्दा १० गुणा बढी हुनेछ। यसमा विशेषगरी लामो दूरीका लेजर सञ्चार सम्पर्कलाई अझ प्रभावकारी बनाइनेछ। उनले हालका लेजर सम्पर्कको क्षमता प्रतिसेकेन्ड करिब १०० गिगाबिट रहेकोमा नयाँ पुस्ताका लेजर सम्पर्कको क्षमता प्रतिसेकेन्ड १० टेराबिटसम्म पुग्न सक्ने जानकारी दिएका छन्।

स्पेसएक्सको यो योजनाले उपग्रहमा आधारित इन्टरनेट सेवाको क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्ने र भविष्यमा बढ्दो एआई तथा डिजिटल सञ्चारको आवश्यकता पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande