
काठमाडौं, ०७ नोभेम्बर (हि.स.)। नेपालमा शनिबार बिहान कागलाई विभिन्न मीठा परिकार खुवाएर काग तिहार मनाइयो। हिन्दू धार्मिक मान्यताअनुसार, कागलाई मृत्यु र न्यायका देवता यमराजको सन्देशवाहक मानिन्छ। त्रयोदशीका दिन मनाइने काग तिहार उज्यालोको पर्व तिहारअन्तर्गत पाँचदिने यमपञ्चक उत्सवको पहिलो दिन हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले धार्मिक शास्त्रअनुसार, त्रयोदशी तिथिको बिहान काग तिहार मनाउनुपर्ने बताए। यही धार्मिक मान्यताका आधारमा आज काग तिहार मनाउने निर्णय गरिएको उनले जानकारी दिए।
यस अवसरमा आज काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजाअर्चना भएको छ। त्यसैगरी, हनुमानढोका परिसरस्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गरिन्छ।
धार्मिक मान्यताअनुसार, यमराजले नराम्रो कर्म गर्नेहरूलाई दण्डित गर्छन् भने असल कर्म गर्नेहरूको रक्षा गर्दै धर्मराजको रूप धारण गर्छन्।
हिन्दुस्थान समाचार / बिशाल