कोरोना भाइरसको नयाँ भेरिएन्टमाथि डब्ल्यूएचओको निगरानी, दिसम्बरमा समीक्षा गरिने
सांकेतिक


मस्को, ०७ नोभेम्बर (हि.स./रिया नोवोस्ती)। विश्वभर कोरोना भाइरसको नयाँ भेरिएन्टलाई लिएर पुनः चिन्ता बढ्न थालेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड १९ को नयाँ भेरिएन्ट पीजे.२.१ को बढ्दो सङ्क्रमणमाथि निगरानी शुरु गरेको छ। सङ्गठनको खोप विशेषज्ञ समूहले दिसम्बर २०२६ मा हुने बैठकमा यस स्वरूपसहित अन्य नयाँ भेरिएन्टका तथ्याङ्कहरूको समीक्षा गर्ने जनाएको छ। त्यसपछि कोभिड १९ विरुद्धको खोपको संरचनाबारे नयाँ सिफारिस जारी गर्न सकिनेछ।

डब्ल्यूएचओका अनुसार कोभिड १९ खोपको संरचनाबारे प्राविधिक सल्लाहकार समूह (ट्याग को भ्याक) ले दिसम्बरमा पीजे.२.१, एसटी.१ र एसडब्ल्यू.२.१ भेरिएन्टसंग सम्बन्धित उपलब्ध तथ्याङ्कहरूको विश्लेषण गर्नेछ। यस क्रममा विशेषज्ञहरूले ती भेरिएन्टमा देखिएका आनुवंशिक परिवर्तन, सङ्क्रमणको फैलावट, प्रतिजनसम्बन्धी विशेषता तथा शरीरको प्रतिरक्षा प्रणालीमा पर्ने प्रभावको अध्ययन गर्नेछन्। साथै, हाल प्रयोगमा रहेका खोपहरू यी नयाँ स्वरूपविरुद्ध कति प्रभावकारी छन् भन्ने विषयमा पनि मूल्याङ्कन गरिनेछ।

यसअघि डब्ल्यूएचओको रुसी कार्यालयले कोरोना भाइरसको नयाँ भेरिएन्ट पीजे.२.१ विश्वव्यापी रूपमा फैलिन सक्ने आशङ्का व्यक्त गरेको थियो। सङ्गठनले यस भेरिएन्टको गतिविधि र सङ्क्रमणको फैलावटमाथि निरन्तर निगरानी गरिरहेको जनाएको थियो।

डब्ल्यूएचओको प्राविधिक सल्लाहकार समूहले बदलिँदो भाइरसअनुसार खोपलाई अद्यावधिक गर्ने सम्बन्धमा सुझाउ दिन समय-समयमा कोभिड १९ खोपको संरचनाको समीक्षा गर्दै आएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande