
ठाणे, ०७ नोभेम्बर (हि.स.)। महाराष्ट्रको ठाणे आतङ्कवाद निरोधक दस्ता (एटीएस) ले झारखण्डको एक वाञ्छित नक्सलीलाई डोम्बिवली नजिकै ठाकुर्ली क्षेत्रबाट पक्राउ गरेको छ। पक्रा परेको आरोपीको पहिचान सञ्जय सरोज यादव उर्फ सञ्जय गोदराय उर्फ बुधराम (४५) का रूपमा भएको छ। झारखण्ड सरकारले उमाथि १० लाख रुपियाँको इनाम घोषणा गरेको थियो।
सञ्जय यादव झारखण्डको जङ्गली क्षेत्रको बासिन्दा हो र उ विगत लगभग १० दिनदेखि ठाकुर्लीमा बस्दै आएको थियो। झारखण्डका सुरक्षा निकायले उसको खोजी गरिरहेका थिए। उ महाराष्ट्र आएको सूचना प्राप्त भएपछि महाराष्ट्र एटीएसले ठाकुर्ली क्षेत्रमा निगरानी शुरु गरेको थियो। उपयुक्त अवसर मिल्नेबित्तिकै उसलाई पक्राउ गरिएको हो।
पक्राउपछि आरोपीलाई अदालतमा पेश गरिएको छ। एटीएसले विगत १० दिनदेखि उ ठाकुर्लीमा कसको सहयोगमा बसिरहेको थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। उसलाई बस्ने ठाउँ कसले उपलब्ध गराएको थियो र स्थानीय स्तरमा उ को–कोसँग सम्पर्कमा थियो भन्नेबारे पनि छानबिन भइरहेको छ।
महाराष्ट्र आउने उद्देश्य के थियो?
अनुसन्धान निकायहरू सञ्जय यादव झारखण्डबाट महाराष्ट्र किन आएको थियो र ठाकुर्लीमा बस्नुको उसको उद्देश्य के थियो भन्ने पत्ता लगाउन जुटेका छन्। उसले महाराष्ट्रमा रहँदा कुनै नक्सली गतिविधिको योजना बनाएको थियो कि र राज्यका अन्य शङ्कास्पद व्यक्तिहरूसँग उसको सम्पर्क थियो कि भन्ने लगायत सबै पक्षको अनुसन्धान भइरहेको छ।
झारखण्ड सरकारले १० लाख रुपियाँको इनाम घोषणा गरेका नक्सली ठाणे जिल्लाबाट पक्राउ परेपछि सुरक्षा निकायहरू सतर्क भएका छन्। एटीएसले आरोपीको गतिविधि, सम्पर्क तथा महाराष्ट्र आउनुको कारणबारे गहन अनुसन्धान गरिरहेको छ। अब अनुसन्धानका क्रममा थप के-कस्ता तथ्यहरू बाहिर आउँछन् भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी