
नयाँ दिल्ली, ०७ नोभेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मुले दीपावलीको पूर्वसन्ध्यामा देशवासीलाई शुभकामना दिँदै सबैको सुस्वास्थ्य, सुख र समृद्धिको कामना गरेकी छन्। उनले मानिसहरूलाई पर्यावरण संरक्षण र आपसी सद्भाव कायम राख्न आग्रह गर्दै भारतीय मूल्यहरुबाट प्रेरित युवाहरूलाई विकसित भारतको निर्माणमा उत्साहपूर्वक योगदान दिन आह्वान गरेकी छन्।
राष्ट्रपतिले आफ्नो सन्देशमा भारत तथा विदेशमा बसोबास गरिरहेका सबै भारतीयलाई दीपावलीको हार्दिक बधाई तथा शुभकामना दिएकी छन्। उनले दीपावलीको हर्षोल्लासपूर्ण पर्व रावणमाथि विजय प्राप्त गरेपछि भगवान् श्रीराम अयोध्या फर्किएको घटनासँग सम्बन्धित रहेको बताइन्। भगवान् श्रीरामले दीपहरूको सुन्दर पङ्क्ति देखेका थिए। यही नै दीपावलीको सांस्कृतिक र आध्यात्मिक महत्त्व हो। यो पर्व रामराज्यको शुभारम्भको प्रतीक पनि रहेको उनले बताइन्।
मुर्मुले दीपावलीको पर्व सद्गुणहरूको नकारात्मक प्रवृत्तिमाथिको विजयको प्रतीक भएको बताइन्। यसले दुःखको अन्त्य र आनन्दमय तथा समृद्ध जीवनको शुरुआतको सन्देश दिने उनले उल्लेख गरिन्। यस अवसरमा मानिसहरूले शुभारम्भ र कल्याणका लागि भगवान् गणेश तथा समृद्धिका लागि माता महालक्ष्मीको पूजा गर्दै सबैको सुखको कामना गर्ने गरेको उनले बताइन्।
राष्ट्रपतिले आफ्नो सन्देशमा देशका प्रत्येक नागरिकको सुस्वास्थ्य, सुख र समृद्धिको कामना गरेको बताइन्। उनले सबैले पर्यावरण संरक्षण गर्ने र आपसी सद्भावका साथ बस्ने आशा व्यक्त गरिन्। भारतीय मूल्यहरूबाट प्रेरित देशका देशभक्त युवाहरूले विकसित भारतको निर्माणमा उत्साहपूर्वक योगदान दिनुपर्ने उनले बताइन्।
हिन्दुस्थान समाचार / भवानी थामी