रक्षामन्त्री राजनाथ सिंहले बागडोगरा वायुसेना स्टेशनमा सैनिकहरूसँग मनाए दीपावली
रक्षा मंत्री राजनाथ सिंह ने बागडोगरा एयर फोर्स स्टेशन पर जवानों के साथ मनाई दिवाली


- अनुशासनले नै सामान्य सैनिकलाई असाधारण योद्धा बनाउँछ : राजनाथ सिंह

सिलगढ़ी, ०७ नोभेम्बर (हि.स.)। रक्षामन्त्री राजनाथ सिंहले शनिवार दीपावलीको अवसरमा बागडोगरा वायुसेना स्टेशन पुगेर भारतीय वायुसेनाका जवानहरूलाई पर्वको शुभकामना दिए। यस अवसरमा उनले जवानहरूलाई मिठाई खुवाउँदै उनीहरूसँग दीपावलीको खुशी साझा गरे। उनले जवानहरूको साहस, कर्तव्यनिष्ठा र अनुशासनको प्रशंसा गर्दै प्राकृतिक विपद्का बेला मानिसहरूलाई सहयोग गर्नेदेखि देशको सुरक्षासम्म हरेक मोर्चामा भारतीय वायुसेनाको योगदान प्रशंसनीय र देशका लागि गर्वको विषय रहेको बताए।

जवानहरूलाई सम्बोधन गर्दै रक्षामन्त्रीले भारतीय वायुसेनाका वीर जवानहरूको साहस र समर्पण देशमा मात्र नभई विश्वभरि परिचित रहेको बताए। प्रतिकूल परिस्थितिमा देशको सुरक्षा सुनिश्चित गर्न होस् वा प्राकृतिक विपद्का बेला राहत तथा उद्धार कार्यको जिम्मेवारी निर्वाह गर्न, वायुसेनाका जवानहरू हरेक चुनौतीको सामना गर्न सधैँ तयार रहने उनले बताए। उनीहरूको समर्पण देशको सबैभन्दा ठूलो शक्ति भएको पनि उनले उल्लेख गरे।

सशस्त्र बलमा अनुशासनको महत्त्वमाथि जोड दिँदै राजनाथ सिंहले प्रविधि जतिसुकै उन्नत भए पनि सैनिकहरूमा साहस र अनुशासन बिना त्यसको कुनै महत्त्व नरहने बताए। अनुशासनले नै सामान्य सैनिकलाई असाधारण योद्धा बनाउने उनले बताए। सैन्य क्षमतालाई बलियो बनाउन आधुनिक प्रविधिसँगै सैनिकहरूमा साहस, समर्पण र अनुशासन पनि आवश्यक रहेको उनले उल्लेख गरे।

रक्षामन्त्रीले ड्रोन र साइबर सुरक्षा जस्ता आधुनिक प्रविधिमा सशस्त्र बललाई अझ् दक्ष बनाउने कुरामा जोड दिए। उनले जवानहरूलाई ड्रोन सञ्चालन, साइबर सुरक्षा र युद्धका बदलिँदा रणनीतिबारे प्रशिक्षण दिइँदै आएको जानकारी दिए। भविष्यका चुनौतीहरूको प्रभावकारी सामना गर्न सशस्त्र बललाई आधुनिक प्रविधिले सुसज्जित गर्नु आवश्यक रहेको उनले बताए। जवानहरूको सहयोग र समर्पणबाट भारत यस दिशामा निरन्तर मजबुत रूपमा अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरे।

देशको रक्षा उत्पादन क्षेत्रमा भइरहेको प्रगतिको उल्लेख गर्दै राजनाथ सिंहले आत्मनिर्भर भारतको पहलबाट देशका स्टार्टअप र औद्योगिक संस्थाहरूले ड्रोन, एन्टी-ड्रोन प्रणाली तथा सैनिकहरूका लागि आधुनिक उपकरणहरू तयार गरिरहेको बताए। स्वदेशी प्रविधिबाट निर्मित रक्षा उपकरणहरूको विकास र तिनको प्रयोगमा भारतीय सशस्त्र बलको भूमिकाप्रति उनले गर्व व्यक्त गरे। घरेलु रक्षा उत्पादनलाई प्रोत्साहन गर्नु देशको सामरिक क्षमता र आत्मनिर्भरताका दृष्टिले महत्त्वपूर्ण रहेको उनले बताए।

यस अवसरमा रक्षामन्त्रीले जवानहरूलाई स्थानीय बासिन्दासँग राम्रो सम्बन्ध कायम राख्न पनि सुझाव दिए। सैनिकहरूको व्यवहार, पोसाक, कुराकानी र संयमताबाट स्थानीय मानिसहरूमाझ सशस्त्र बलको छवि निर्माण हुने उनले बताए। त्यसैले जुन क्षेत्रमा जवानहरू तैनाथ हुन्छन्, त्यहाँका मानिसहरूसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्नु उनीहरूको जिम्मेवारी भएको उनले उल्लेख गरे।

राजनाथ सिंहले स्थानीय बासिन्दा र सेनाबीचको सम्बन्ध जति बलियो हुन्छ, शत्रुका विभाजनकारी षड्यन्त्रहरू त्यति नै कमजोर हुने बताए। बागडोगरा र वरपरका क्षेत्रका मानिसहरूमा सेनाप्रति निकै सम्मान र प्रेम रहेको उल्लेख गर्दै जवानहरूले आफ्नो व्यवहार र कार्यबाट यस विश्वासलाई निरन्तर कायम राख्नुपर्ने उनले बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande