
नयाँ दिल्ली, ०७ नोभेम्बर (हि.स.)। कांग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धीले केन्द्र सरकारमाथि आरोप लगाउँदै विगत १२ वर्षमा देशको लोकतान्त्रिक संरचना, संस्थाहरू र सामाजिक तानाबानालाई ठूलो क्षति पुगेको बताएकी छन्। उनले केन्द्रको वर्तमान सरकार सत्ताबाट बाहिरिएपछि पनि लोकतान्त्रिक व्यवस्था र संस्थाहरूलाई पुनः सुदृढ़ बनाउन समय लाग्ने बताइन्। यसका लागि राजनीतिक दलहरूले गम्भीरतापूर्वक सामूहिक प्रयास गर्नुपर्ने उनको भनाइ छ।
सोनिया गान्धीले आफ्नो आगामी पुस्तक ‘बिलङगिङ : अ जर्नी अफ लभ’ को प्रकाशनअघि एक अङ्ग्रेजी अखबारलाई दिएको अन्तर्वार्तामा यी कुरा बताएकी हुन्। हार्परकलिन्स इन्डियाद्वारा प्रकाशित हुने यो पुस्तक १० नोभेम्बरमा बजारमा आउनेछ भने १६ नोभेम्बरमा यसको औपचारिक विमोचन गरिनेछ। यस पुस्तकमा उनले आफ्नो निजी जीवन, भारतसँगको सम्बन्ध, राजनीतिक यात्रा, कांग्रेसको भूमिका र देशको वर्तमान राजनीतिक अवस्थाबारे आफ्ना विचार व्यक्त गरेकी छन्। उनले अब मानिसहरूले देशका संस्थाहरू र लोकतान्त्रिक व्यवस्थामाथि पुगेको क्षतिलाई महसुस गर्न थालेको बताइन्। यसका बाबजुद पनि उनी देशको भविष्यलाई लिएर आशावादी छिन्।
कांग्रेसको वर्तमान अवस्था र चुनावी सम्भावनाबारे सोनिया गान्धीले आफू पार्टीको अवस्थालाई लिएर निराशावादी नरहेको बताइन्। केन्द्रमा वर्तमान सरकार आएदेखि कांग्रेस र अन्य विपक्षी दलहरूले समान अवसर पाएका छैनन्। सरकारको सबै संस्थाहरूमाथि, विशेषगरी निर्वाचन आयोगमाथि पूर्ण नियन्त्रण रहेको उनको आरोप छ। मूलधारका सञ्चारमाध्यम पनि सरकारको प्रभावमा छन्। यस बाहेक धनबल र धर्मको प्रयोग गरेर राजनीतिक प्रतिस्पर्धालाई प्रभावित पारिँदैछ। उनले तमाम चुनौती र उत्पीड़नका बाबजुद कांग्रेसका नेता तथा कार्यकर्ताहरू गाउँ र जिल्लाहरूमा संविधानका मूल्यहरूको रक्षाका लागि सङ्घर्ष गरिरहेको बताइन्। पछिल्ला महिनाहरूमा धेरै चुनाउमा अनियमितता र चुनाउ चोरीका घटनाहरू सार्वजनिक भएका छन् र अब मानिसहरू पनि यस विषयमा सचेत हुन थालेका छन्। कांग्रेस समान विचारधारा भएका दलहरूसँग मिलेर काम गरिरहेको छ र पार्टीको सम्भावना दिनप्रतिदिन सुधार हुँदै गएको उनले बताइन्।
सोनिया गान्धीले सन् १९९९ मा तत्कालीन कांग्रेस नेताहरू शरद पवार, पीए सङ्मा र तारिक अनवरले उनको विदेशी मूलको मुद्दा उठाएको घटनाबारे पनि कुरा गरिन्। उक्त घटनाले प्रधानमन्त्री पद स्वीकार नगर्ने आफ्नो निर्णयलाई अझ बलियो बनाएको थियो कि भन्ने प्रश्नमा उनले आफ्ना सहकर्मीहरूको यस्तो रुखले आफूलाई गहिरो दुःख पुगेको बताइन्। ती नेताहरूले आफूलाई विश्वास गर्छन् भन्ने लागेको थियो, तर पछि त्यस्तो नभएको थाहा पाएको उनले बताइन्।उनीहरूले आफूलाई अझै पनि बाहिरी व्यक्ति ठानेको थाहा पाउँदा आफूलाई ठूलो धक्का लागेको उनको भनाइ छ। त्यसबेला उनको आँखामा आँसु आएको थियो र उनी बैठकबाट बाहिरिएकी थिइन्। आफूलाई कुनै पद वा सत्ताबाट वञ्चित हुनुपरेकोमा दुःख नभई भारतप्रतिको आफ्नो निष्ठामाथि प्रश्न उठाइएकोमा पीडा भएको उनले बताइन्।
भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) सँग राजनीतिक सम्झौता गर्ने प्रश्नमा सोनिया गान्धीले कांग्रेसले कहिल्यै उनीहरूसँग सम्झौता नगरेको र भविष्यमा पनि नगर्ने बताइन्। उनले राजनीतिमा कहिलेकाहीँ फरक विचारधारा भएका दलहरूसँग गठबन्धन गर्नुपर्ने भए पनि भाजपा र आरएसएससँग सम्झौता सम्भव नरहेको बताइन्। कांग्रेसको आधिकारिक विचारधारा सबै नागरिकलाई कुनै डरबिना आफ्नो धर्म र आस्थाको पालना गर्ने संवैधानिक अधिकारको समर्थनमा रहेको उनले स्पष्ट पारिन्।
प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक उदयबाट कांग्रेसले सिक्नुपर्ने विषयबारे सोधिएको प्रश्नमा सोनिया गान्धीले मोदी फरक वैचारिक पृष्ठभूमिबाट आएको भए पनि कांग्रेसमा राजनीतिक सफलताका धेरै उदाहरण रहेको बताइन्। आरएसएसबाट सिक्नका लागि कांग्रेससँग धेरै कुरा नरहेको उनको भनाइ छ।
सोनिया गान्धीले आपत्काललाई स्वतन्त्र भारतको इतिहासको कालो अध्याय बताइन्। उनले त्यस अवधिमा लोकतान्त्रिक अधिकारहरूमाथि प्रतिबन्ध लगाइएको र बन्दी प्रत्यक्षीकरणको अधिकार समेत निलम्बन गरिएको बताइन्। पछि इन्दिरा गान्धीले परिस्थितिलाई बुझ्दै मार्च १९७७ मा चुनाउ गराउने निर्णय गरेकी थिइन् र आपत्कालका क्रममा भएका ज्यादतीप्रति खेद व्यक्त गर्दै माफी समेत मागेकी थिइन्।
हिन्दुस्थान समाचार / भवानी थामी