
नयाँ दिल्ली, ०८ नोभेम्बर (हि.स.)। अरुणाचल प्रदेशको तवाङ स्थित गदेन नामग्याल ल्हात्से (तवाङ गुम्बा) मा भगवान शाक्यमुनि बुद्धका पवित्र अवशेषहरूको सातदिने प्रदर्शनी ७ नोभेम्बरमा सम्पन्न भएको छ। यस अवधि कूल ३१ हजार श्रद्धालु तथा पर्यटकहरूले पवित्र अवशेषको दर्शन गरेका छन्। अब यी अवशेषहरू ८ देखि १३ नोभेम्बरसम्म बोमडिला स्थित टीजीएल गुम्बा (लोअर गोम्पा) मा दर्शनका लागि राखिनेछन्।
केन्द्रिय संस्कृति मन्त्रालयले अरुणाचल प्रदेश सरकार र नयाँ दिल्ली स्थित अन्तर्राष्ट्रिय बौद्ध परिसंघको सहयोगमा यस प्रदर्शनीको आयोजना गरेको थियो। पवित्र अवशेषहरू ३१ अक्टोबरमा राष्ट्रिय सङ्ग्रहालय, नयाँ दिल्लीबाट निर्धारित प्रोटोकल तथा समारोहका साथ तवाङ पुर्याइएको थियो। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डूले केन्द्रिय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतको उपस्थितिमा यी अवशेषहरूको औपचारिक स्वागत गरेका थिए।
सात दिनसम्म तवाङ गुम्बामा बौद्ध भिक्षुहरू, वरिष्ठ नागरिकहरू तथा सर्वसाधारणले अवशेषहरूको दर्शन गरी पूजा-अर्चना गरे। तवाङ जिल्लाका विभिन्न क्षेत्र तथा वरपरका इलाकाबाट ठूलो सङ्ख्यामा श्रद्धालुहरू पुगे। यस अवधि मुख्यमन्त्री पेमा खाण्डूले गुम्बामा दुई वटा विशेष प्रदर्शनीको उद्घाटन समेत गरे। अन्तरराष्ट्रिय बौद्ध परिसंघद्वारा आयोजित ‘अनअर्थिङ द सेक्रेड पिपरहवा’ प्रदर्शनीमा सन् १८९८ मा पिपरहवामा बुद्धका पवित्र अवशेषहरू फेला परेको इतिहास प्रस्तुत गरियो। त्यस्तै, राष्ट्रिय सङ्ग्रहालयद्वारा तयार पारिएको ‘क्रसरोड्स अफ धम्मा’ प्रदर्शनीमा बौद्ध धर्मको ऐतिहासिक, कलात्मक तथा सांस्कृतिक सम्पदालाई दर्शाइयो।
अन्तरराष्ट्रिय बौद्ध परिसंघले २ नोभेम्बरमा तवाङको कलावाङपो कन्भेन्शन सेन्टरमा ‘हिमालय क्षेत्र र त्यसभन्दा बाहिर बौद्ध धर्मको विस्तार’ विषयमा अन्तरराष्ट्रिय सम्मेलन समेत आयोजना गरेको थियो। यसमा भारत तथा अन्य देशका बौद्ध विद्वान्, धार्मिक नेता र प्रतिनिधिहरूले भाग लिए। सम्मेलनमा हिमालय क्षेत्र तथा त्यसभन्दा बाहिर बौद्ध शिक्षाको विस्तार र सम्पदाको संरक्षणबारे छलफल भयो।
तवाङमा प्रदर्शनी सम्पन्न भएपछि पवित्र अवशेषहरूलाई ८ नोभेम्बरमा भारतीय वायुसेनाको विमानबाट बोमडिला लगिनेछ। अपर गोम्पामा छोटो समयका लागि रोकिएपछि यी अवशेषहरूलाई टीजीएल गुम्बा (लोअर गोम्पा) मा स्थापना गरिनेछ। यहाँ ८ देखि १३ नोभेम्बरसम्म श्रद्धालुहरूले दर्शन गर्न सक्नेछन्।
त्यसपछि पवित्र अवशेषहरूलाई नामसाई स्थित गोल्डेन प्यागोडा लगिनेछ, जहाँ १४ देखि २० नोभेम्बरसम्म दर्शनका लागि राखिनेछ। त्यसपछि २१ नोभेम्बरमा यी अवशेषहरूलाई पुनः राष्ट्रिय सङ्ग्रहालय, नयाँ दिल्लीमा फिर्ता लगिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी