
नयाँ दिल्ली, 08 नोभेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीसहित विभिन्न राजनीतिक दलका नेताहरूले आइतबार देशवासीलाई दीपावलीको शुभकामना दिएका छन्।
राष्ट्रपति मुर्मुले सामाजिक सञ्जाल एक्समार्फत भारत तथा विदेशमा रहेका सबै भारतीयलाई दीपावलीको शुभकामना दिँदै यस पर्वले सदाचारको दुराचारमाथि विजयको सन्देश दिने बताएकी छन्। उनले देशका प्रत्येक नागरिकको जीवनमा सुख, स्वास्थ्य र समृद्धि छाओस् तथा पर्यावरण संरक्षण, सामाजिक सद्भाव र भ्रातृत्वको भावना अझ बलियो बनोस् भन्ने कामना गरेकी छन्।
उपराष्ट्रपति सीपी राधाकृष्णनले दीपावली अन्धकारमाथि प्रकाश, खराबीमाथि असल र असत्यमाथि सत्यको विजयको प्रतीक भएको बताएका छन्। यस पर्वले प्रत्येक घरमा सुख, शान्ति र समृद्धि ल्याउनुका साथै राष्ट्रिय एकता र सद्भावलाई थप मजबुत बनाओस् भन्ने कामना गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले दीपावलीको शुभकामना दिँदै यस अवसरमा छत्तीसगढको बस्तर पुगेर सुरक्षाकर्मीसँग पर्व मनाउने बताएका छन्। उनले नक्सली प्रभावित क्षेत्र बस्तरमा अहिले विकासको लहर फैलिएको उल्लेख गर्दै वीर जवानहरूको बलिदान, त्याग र तपस्यालाई नमन गर्न जाने बताएका छन्।
लोकसभा अध्यक्ष ओम बिरलाले देशका सीमामा तैनाथ सुरक्षाकर्मी, किसान, श्रमिक, उद्यमी, व्यापारी तथा समस्त देशवासीलाई शुभकामना दिएका छन्। माता लक्ष्मीको कृपाले प्रत्येक घरमा सुख-समृद्धि छाओस् र भारत आर्थिक तथा सामाजिक रूपमा अझ सशक्त बनोस् भन्ने उनले कामना गरेका छन्।
रक्षामन्त्री राजनाथ सिंहले प्रकाश, उल्लास र नवचेतनाको पर्व दीपावलीले सबैको जीवनमा सुख, समृद्धि, उत्तम स्वास्थ्य र खुसी ल्याओस् भन्ने कामना गरेका छन्। त्यस्तै, केन्द्रीय गृहमन्त्री अमित शाहले यस पर्वले सबैको जीवनमा सुख, समृद्धि र सौभाग्यका साथै नयाँ ऊर्जा र उत्साह सञ्चार गरोस् भनेका छन्।
केन्द्रिय सडक परिवहन तथा राजमार्गमन्त्री नितिन गडकरी, स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डा र कृषिमन्त्री शिवराज सिंह चौहानले पनि देशवासीको सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दै दीपावलीको शुभकामना दिएका छन्।
भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले दीपावलीलाई अन्धकारमाथि प्रकाश र निराशामाथि आशाको विजयको प्रतीक बताएका छन्।
यसैगरी, लोकसभामा विपक्षी दलका नेता राहुल गान्धी, कांग्रेस महासचिव प्रियंका गान्धी वाड्रा र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले पनि देशवासीलाई दीपावलीको शुभकामना दिँदै प्रत्येक घरमा सुख, शान्ति, समृद्धि र खुसीको उज्यालो फैलियोस् भन्ने कामना गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी