
नयाँ दिल्ली, 08 नोभेम्बर (हि.स.)। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहसहित विभिन्न नेताहरूले आइतबार भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री लालकृष्ण आडवाणीलाई जन्मदिनको शुभकामना दिएका छन्।
उपराष्ट्रपति राधाकृष्णनले सामाजिक सञ्जाल एक्समार्फत शुभकामना दिँदै दशकौँ लामो उनको जनसेवा र राष्ट्रप्रतिको समर्पण भारतको लोकतान्त्रिक यात्राको महत्त्वपूर्ण हिस्सा रहेको बताएका छन्। उनले आडवाणीको उत्तम स्वास्थ्य, सुख र दीर्घायुको कामना गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले आडवाणीको भारतप्रतिको योगदानको चर्चा गर्दै कठिन परिस्थितिमा पनि नयाँ सुरुवात गर्ने उनको सङ्कल्प जीवनभर कायम रहेको बताएका छन्। जनसङ्घलाई मजबुत बनाउन तथा भारतीय जनता पार्टीको निर्माण र विस्तारमा उनको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले उनको उत्तम स्वास्थ्यको कामना गरेका छन्।
लोकसभा अध्यक्ष ओम बिरलाले राष्ट्रप्रतिको आडवाणीको समर्पण, सार्वजनिक जीवनको लामो अनुभव तथा लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता सबैका लागि प्रेरणादायी रहेको बताएका छन्।
रक्षामन्त्री राजनाथ सिंहले आडवाणीले आफ्नो लामो सार्वजनिक जीवनमा निष्ठा, समर्पण र नेतृत्वका नयाँ उदाहरण स्थापित गर्दै राष्ट्र निर्माणमा अमूल्य योगदान दिएको बताएका छन्। भाजपा स्थापनादेखि देशभर सङ्गठन विस्तार गर्न उनको भूमिका महत्त्वपूर्ण रहेको पनि उनले उल्लेख गरेका छन्।
केन्द्रिय गृहमन्त्री अमित शाहले सामान्य परिवारबाट उठेर भाजपाका संस्थापक सदस्य, राष्ट्रिय अध्यक्ष र देशको उपप्रधानमन्त्रीसम्मको जिम्मेवारी सम्हालेका आडवाणीको जीवन जनसेवा र राष्ट्रप्रतिको समर्पणको उदाहरण रहेको बताएका छन्।
केन्द्रिय सडक परिवहन तथा राजमार्गमन्त्री नितिन गडकरीले आडवाणीको उत्तम स्वास्थ्य, दीर्घायु र सुखमय जीवनको कामना गरेका छन्। साथै, उनको मार्गदर्शन निरन्तर प्राप्त भइरहोस् भन्ने कामना व्यक्त गरेका छन्।
केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डाले राष्ट्रप्रतिको आडवाणीको समर्पण, विचारप्रतिको दृढता, सिद्धान्तप्रतिको अटुट निष्ठा र सङ्गठनप्रतिको साधना भारतीय राजनीतिक इतिहासमा सदैव स्मरणीय रहने बताएका छन्। भाजपालाई सशक्त सङ्गठनका रूपमा स्थापित गर्नेदेखि राष्ट्र निर्माणसम्म उनको अतुलनीय योगदान सबैका लागि प्रेरणाको स्रोत रहेको उनले उल्लेख गरेका छन्।
केन्द्रिय कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले भगवान् श्रीरामको कृपा आडवाणीमाथि सदैव कायम रहोस् भन्दै उनको उत्तम स्वास्थ्य, दीर्घायु तथा सबैलाई निरन्तर स्नेह, आशीर्वाद र मार्गदर्शन प्राप्त भइरहोस् भन्ने कामना गरेका छन्।
भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले जनसङ्घदेखि भाजपासम्म सङ्गठन विस्तार, राष्ट्रवादी विचारधारालाई जनस्तरसम्म पुर्याउन तथा श्रीराम जन्मभूमि आन्दोलनलाई जनआन्दोलनको स्वरूप दिन आडवाणीको अविस्मरणीय योगदान रहेको बताएका छन्। सार्वजनिक जीवनमा उनको स्वच्छ छवि र सङ्गठनप्रतिको अटुट निष्ठा भाजपाका सबै कार्यकर्ताका लागि सदैव प्रेरणाको स्रोत रहने उनले उल्लेख गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी