
नयाँ दिल्ली, ०८ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार यस पटकको दीपावली विशेष रहेको बताएका छन्। यो पहिलो दीपावली हो, जब देशका सबै जिल्ला नक्सलवादबाट मुक्त भएका छन् र करोड़ौं देशवासी वामपन्थी उग्रवादको प्रभावबाट मुक्त भएका छन्। उनले ४७ वर्षपछि पहिलो पटक गत एक वर्षमा केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) का एक जना पनि जवानले ड्युटीका क्रममा ज्यान गुमाउनुपरेको छैन भने।
प्रधानमन्त्री मोदी आइतवार परम्परा अनुसार दीपावलीको अवसरमा जवानहरूबीच पुगे। यस पटक उनी छत्तीसगढ़को बस्तर जिल्लामा सीआरपीएफका जवानहरूसँग दीपावली मनाउन पुगे।
यस अवसरमा जवानहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आन्तरिक सुरक्षा बलियो भएपछि मात्र बाह्य शत्रुहरूसँग देशले लड्न शसक्ने बताएका छन्। विगतका सरकारहरूले नक्सलवादलाई निको नहुने रोग ठानेर त्यसै छाड़ेका थिए। यस्तो नीतिबाट अगाड़ी बढ्न सम्भव थिएन। साल २०१४ मा बलियो रणनीति र दृढ़ आत्मविश्वासका साथ उनको सरकारले राजनीतिक इच्छाशक्तिको कमीलाई हटाउँदै नक्सलवाद विरुद्ध निर्णायक लड़ाइँ लड़्यो। आज यही कारण देश नक्सलवादबाट मुक्त भएको उनले बताए।
प्रधानमन्त्रीले आफ्नो सरकारले सेवाभावका साथ नक्सल प्रभावित क्षेत्रका मानिसहरूको जीवन परिवर्तन गर्ने काम गरेको र यही कारण नक्सलवादबाट पीड़ित मानिसहरू सरकार तथा सुरक्षा बलसँग मजबुत रूपमा उभिएको बताए।
यस अवसरमा प्रधानमन्त्रीले सुरक्षा बलका जवानहरूको त्याग र तपस्याको प्रशंसा गर्दै उनीहरूको प्रयासकै कारण नक्सली आतङ्कको अन्त्य सम्भव भएको र विकासको लहर आएको बताए। उनले सबै भारतीयका तर्फबाट जवानहरूप्रति आभार व्यक्त गर्न आफू आएको बताए।
उनले भने, “देशको आन्तरिक सुरक्षामा खटिएका सुरक्षा बल, सीआरपीएफ, कोबरा, बीएसएफ, आईटीबीपीका प्रत्येक जवान, एसएसबी, आईआरबी र राज्य पुलिसका प्रत्येक सिपाही, बस्तर फाइटर जस्ता विशेष बलका कमान्डो, महिला फाइटरहरू, देश तपाईहरूको सेवाप्रति ऋणी छ।”
प्रधानमन्त्री मोदीले आफ्नो सरकारले जसरी धारा ३७० हटाउने र देशलाई नक्सलवादबाट मुक्त बनाउने आफ्नो सङ्कल्प पूरा गरेको छ, त्यसरी नै देशलाई गरीबीमुक्त बनाउने, लागुऔषधमुक्त बनाउने तथा विकसित भारत र आत्मनिर्भर भारतको सङ्कल्प एवं लक्ष्य हासिल गर्न पनि सफल हुने बताए।
प्रधानमन्त्रीले फेरि एक पटक सचेत गराउँदै नक्सलवाद विरुद्धको लड़ाइँका बाबजुद खतरा पूर्ण रूपमा समाप्त नभएको बताए। उनले जङ्गलबाट नक्सलीहरूको सफाया भए पनि वैचारिक नक्सलीहरूले धेरै सङ्गठनमाथि कब्जा जमाएको बताए। राजनीतिक दल र सङ्गठनहरूमा पनि उनीहरूको घुसपैठ रहेको उल्लेख गर्दै उनीहरूको पहिचान गर्नु आवश्यक रहेको बताए। यस्ता मानिसहरूले देशको संविधान र लोकतन्त्र विरुद्ध जनतालाई उक्साइरहेको उनले बताए।
प्रधानमन्त्रीले हालै विश्व ब्याङ्कको एउटा प्रतिवेदनलाई उद्धृत गर्दै यस अनुसार पछिल्लो १२ वर्षको अवधिमा देशका ५० करोड़ मानिस गरीबीबाट बाहिर निस्किएको बताए। उनले ‘गरिबी हटाऊ’ भन्ने नाराबाट जुन काम सम्भव हुन सकेको थिएन, त्यो काम पछिल्लो १२ वर्षमा देशले गरेर देखाएको बताए। गरीब कल्याणका लागि आफ्नो सरकारले सञ्चालन गरेका योजनाहरूको उल्लेख गर्दै उनले यी योजनाहरू एक रङ्गोली जस्तै रहेको बताए, जुन एकअर्कासँग जोड़िएर सुन्दर दृश्य निर्माण गर्छन्। उनले जनधन, प्रधानमन्त्री आवास, मुद्रा, स्वनिधि, आयुष्मान भारत, निःशुल्क राशन, सस्तो औषधि तथा सुरक्षासँग सम्बन्धित सरकारी योजनाहरूको उल्लेख गरे।
उनले पहिले गरीबी विरासतका रूपमा पाउने परिवारहरूले अहिले राम्रो भविष्यको आशा गर्न थालेको बताए।
हिन्दुस्थान समाचार / भवानी थामी