
इम्फाल, 19 मार्च (हि.स.)। मणिपुर पुलिस र सुरक्षा बलहरूले राज्यका विभिन्न भागहरूमा बितेको 24 घण्टाभित्रमा सचालित अभियानहरूमा तीन जना मानिसहरूलाई पक्राउ गरेका छन् जसमा प्रतिबन्धित संगठनका दुईजना क्याडरहरू पनि सामेल छन्। आरोपीहरूबाट मादक पदार्थ तथा अन्य सामग्रीहरू जफत गरिएको छ।
पहिलो अभियानमा मणिपुर पुलिसले सेनापति जिल्लाको कांगपोकपी थाना अधिनस्थ तोरीबारी गाउँ निवासी अनिल गौतम (34)-लाई बिष्णुपुर जिल्लाको फौगाकचाओ इखाई थाना क्षेत्रस्थित नाका चेक पोइन्टबाट पक्राउ गऱ्यो। जाँच गर्दा उबाट लगभग 1.5 किलोग्राम अफिम, एउटा तीन चक्के अटो-रिक्शा, एउटा ब्याकप्याक, एउटा मोबाइल फोन र एउटा आधार कार्ड जफत गरियो।
अर्को अभियानमा सुरक्षा बलहरूले धन उपार्जनमा संलिप्त प्रतिबन्धित केसीपी (पीडब्ल्यूजी) संगठनका क्याडर मोइरांगथेम जितेन सिंह उपनाम नानाओ (46)-लाई इम्फाल पूर्व जिल्लाको कोंगबा लाइश्रम लेइकाई क्षेत्रबाट पक्राउ गरे भने उबाट एउटा मोबाइल फोन जफत गरिएको छ।
यसरी नै अर्को कारबाहीमा सुरक्षा बलहरूले केसीपी (पीडब्ल्यूजी)- की सक्रिय महिला क्याडर थोकचोम देवरानी देवी (43)-लाई इम्फाल पूर्व जिल्लाको इरिलबुंग थाना क्षेत्र अन्तर्गत कोंगबा माखा उचेकोनस्थित उसको आवासबाट पक्राउ गऱ्यो। उबाट एउटा मोबाइल फोन जफत गरियो। अधिकारीहरूले बताए, सबै मामिलमा अग्रिम जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा