
गान्तोक, 22 मार्च (हि.स.)। सिक्किममा पहिलो पटक 49औं योनेक्स सनराइज जुनियर नेशनल ब्याडमिन्टन च्याम्पियनशिप (व्यक्तिगत र टीम यू-१९) 2026 आयोजना हुने भएको छ। राष्ट्रिय स्तरको उक्त प्रतियोगिता 14 देखि 21 नोभेम्बर, 2026 मा हुनेछ। ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बीएएस) का अध्यक्ष जेकब खालिङले आज जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिएका छन्।
अध्यक्ष खालिङले यस प्रतिष्ठित र राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रतियोगिता राज्यको लागि एक ऐतिहासिक उपलब्धि बताउॅंदै यस प्रतियोगितामा देशभरका शीर्ष जुनियर ब्याडमिन्टन खेलाडीहरूको सहभागिता रहने बताएका छन्। उनले बीएएस र सिक्किमका जनताको तर्फबाट असमका मुख्यमन्त्री तथा ब्याडमिन्टन एसोसिएशन अफ इण्डियाका अध्यक्ष हिमन्त बिस्व सरमा, मानद महासचिव संजय मिश्रा र सम्पूर्ण कार्यकारी समितिलाई विश्वास र समर्थनको लागि हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।
बीएएस अध्यक्षले मुख्यमन्त्री प्रेमसिंह तामाङको मुख्य संरक्षकत्वमा यो प्रतियोगितालाई उच्चतम राष्ट्रिय मापदण्ड अनुसार आयोजना गर्न विश्वस्त र पूर्ण रूपमा प्रतिबद्ध छौं भनी उल्लेख गरेका छन्। उनले कार्यक्रम भव्य, सफल र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन्।
उनले यो प्रतियोगिता निस्सन्देह सिक्किमको लागि एउटा ऐतिहासिक उपलब्धि बन्ने र राज्यका युवा खेलाडीहरूका लागि प्रेरणाको बलियो स्रोत बन्ने विश्वास व्यक्त गरेका छन्। यस प्रतियोगिताले युवा खेलाडीहरूलाई देशका उत्कृष्ट प्रतिभाहरू हेर्न र उनीहरूसॅंग प्रतिस्पर्धा गर्ने बहुमूल्य अवसर प्रदान गर्ने उनले बताएका छन्।
अध्यक्ष खालिङले सम्पूर्ण ब्याडमिन्टन समुदायलाई यस प्रतिष्ठित राष्ट्रिय प्रतियोगितालाई भव्य रूपमा सफल बनाउन सहयोग गर्न हार्दिक अनुरोध पनि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल