खरसाङबाट सुमेन्द्र तामाङले स्वतन्त्र प्रार्थीको रुपमा चुनाउ लड्ने घोषणा गरे
सुमेन्द्र तामाङ स्वतन्त्र प्रार्थी


खरसाङ, 22 मार्च (हि.स.)। आगामी बंगाल विधानसभा चुनाउका लागि श्रमजीवि पहलले सुमेन्द्र तामाङलाई आफ्नो उम्मेदवार घोषणा गरेको छ। खरसाङको बरबुङ बस्ती निवासी तामाङले खरसाङ विधानसभा समष्टिबाट एक स्वतन्त्र उम्मेदवारको रूपमा चुनाउ लड्ने भएका छन्।

खरसाङमा आइतवार आयोजित एक पत्रकार सम्मेलनमा श्रमजीवी पहलका प्रतिनिधिहरुले उक्त जानकारी गराए। श्रमजीवी पहलका प्रतिनिधि तनुजा लामाले जहिले पनि भोटमा अरुलाई नै जनप्रतिनिधि बनाएर पठाउने गरेको, तर कसैले पनि श्रमिकहरुको पक्षमा केही नगरेको भन्दै यसपाली आफुहरुले आफ्नै प्रार्थी चुनाउमा खडा गरिरहेको बताइन्।

यसरी नै सुधा तामाङले आगामी भोट जितेर जानेहरू कसैले पनि श्रमिकहरुको पक्षमा काम नगरेकाले श्रमिकहरुको हितको पक्षमा सुमेन्द्र तामाङलाई स्वतन्त्र प्रार्थीको रुपमा उठाएको जानकारी गराइन्। उनले भनिन्, हाम्रो माग हामीले नै उठाउनु पर्ने रहेछ। बगानमा काम गर्नेहरूले आफ्नो मागलाई सही तरिकाले उठाउन पर्ने आवश्यकता देखियो। श्रमिकहरुका लागि हामी सबै श्रमिकहरु नै एक भएर अघि आउनुपर्छ र हाम्रो प्रार्थीलाई जिताउनु पर्छ।

स्वतन्त्र प्रार्थी सुमेन्द्र तामाङ छेवाङ योञ्जनले भने, हामी अचानक चुनाउमा उठेका होइनौं। विगत 10-12 वर्षदेखि लगातार रुपमा दार्जिलिङ कालेबुङ क्षेत्रमा विभिन्न मुद्दाहरु लिएर कार्य गर्दै आइरहेका थियौँ। यो चुनाउ श्रमिकहरुको पक्षमा स्वतन्त्र प्रार्थीको रुपमा लड्ने घोषणा गरेका हौँ। यसलाई हामीले एक पहल र वैचारिक पहलको रुपमा लिएका छौँ।

उनले केन्द्रको चारवटा श्रम कानुन श्रमिकहरुको विरुद्धमा रहेको दाबी गर्दै यस्तो नीति भएको राजनीतिक दललाई जिताए घातक सिद्ध हुने बताए। उनले श्रमिकहरुका लागि केन्द्र र राज्यको नीति ठीक छैन भन्दै श्रमिकहरुको पक्षमा बोल्ने कोही नभएपछि आफुहरू नै अघि आएर स्वतन्त्र प्रार्थी उठाइरहेको बताए।

श्रमजीवी पहलका स्वतन्त्र प्रार्थी सुमेन्द्र तामाङले भने, हामी हाम्रो मुद्दा लिएर विगत 12-13 वर्षदेखि सामाजिक र युवा प्रतिनिधिको रूपमा काम गर्दै आइरहेको थियौं। यसपालीको चुनाउमा हामी जनताका लागि विकल्पको रूपमा अघि आएर लडिरहेका छौं। हाम्रो नारा 'नो भोट टु भाजपा, नोट भोट टु तृणमूल' हो।

उनले भने, एसआईआरको कारणले यसपाली जनताले धेरै असुविधा भोग्नु परेको छ। हाम्रो पहाडका तीनजना विधायकहरुले जनप्रतिनिधिको हिसाबमा जनताको पक्षमा सरकारको नीतिको विरोध गर्नु पर्ने थियो, तर कसैले गरेनन्। त्यसैले हामीले हाम्रो मागलाई अघि बढाउन सबै नागरिक समाजको मत लिएर स्वतन्त्र प्रार्थीको रुपमा चुनावी मैदानमा ओर्लिएका छौं। हाम्रो संख्या कम होस्, तर हामी जनतालाई सचेत गराउन चाहन्छौं।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande