मतदाताहरुलाई चुनाउको समयमा केही समस्या भए पुलिसलाई सम्पर्क गर्न सकिनेछ: एसपी दार्जिलिङ
दार्जिलिङ जिल्ला पुलिस अधीक्षक एसपीद्वारा खरसाङ पुलिस थानाको निरीक्षण


खरसाङ, 23 मार्च (हि.स.)। दार्जिलिङ जिल्ला पुलिस अधीक्षक (एसपी) आईपीएस प्रतिक्षा झारखियाले विधानसभा चुनाउको तयारीलाई लिएर निर्वाचन आयोगको निर्देशन अनुसार विभिन्न पुलिस थानाहरुको निरीक्षणको क्रममा आज खरसाङ पुलिस थानाको निरीक्षण भ्रमण गरेकी छन्। खरसाङ पुलिस थानामा आइपुगेकी जिल्ला पुलिस अधिक्षक प्रतिक्षा झारखियालाई खरसाङ महकुमा पुलिस अधिकारी आईपीएस निरझा अनिस शाह, खरसाङ थानाका आईसी पलास माहातो लगायत अन्यहरुले स्वागत जनाएका थिए।

जिल्ला पुलिस अधीक्षकले खरसाङ पुलिस थानाको निरीक्षण गरिन्। यसावधि उनले खरसाङ पुलिस थानाका पुलिस अधिकारीहरुसित विभिन्न विषयमा बैठक पनि गरिन्। त्यसपछि उनले पत्रकारहरुलाई सम्बोधन गर्दै चुनाउ आयोगको निर्देशन अनुसार दार्जिलिङ जिल्लाका विभिन्न पुलिस थानाहरुको निरीक्षण गरिरहेको र यसै क्रममा आज खरसाङ पुलिस थानाको निरीक्षणमा आएको बताइन्।

उनले निर्वाचन आयोगको चुनाउ विषयमा छवटा दिशा निर्देशनहरु विषयमा जानकारी गराउँदै कुनै अशान्ति बिना नै चुनाव गराउने, मतदाताहरुलाई प्रभावित बनाउने कुराहरु विशेष गरेर रुपियाँ पैसाको लेनदेन रोक्न, मतदाताहरुलाई धम्काउने विषयमा वा धम्कीरहित चुनाउ गराउन, कुनै पनि प्रकारको बुथ कब्जा गर्न नदिन, जाली भोट रोक्न जस्ता विविध विषयमा दार्जिलिङ जिल्लाको विभिन्न पुलिस थानाहरुमा पुगेर सचेत गराइएको जानकारी दिएकी छन्।

उनले हरेक थानामा पुगेर पुलिस प्रशासनलाई सचेत गराइएको र चुनाउ ड्युटीमा रहेका कुनै पनि पुलिस अधिकारी कुनै पनि मतदातालाई प्रभावित बनाउने कार्यमा लिप्त नहोस् भनेर पुलिसलाई सभा गरेर सचेत गराइएको पनि जनाइन्। उनले सोमवार साँझ एसआईआरको अर्को लिस्ट जारी हुँदा हुन सक्ने अशान्तिलाई लिएर पुलिस बल पूर्ण रुपमा तयार रहेको बताइन्। यसावधि उनले चुनाउ विषयमा केही समस्या भएमा वा केही गुनासोहरु भएमा दार्जिलिङ पुलिससित टोल फ्रि नम्बरहरुमा सम्पर्क गर्न आग्रह पनि गरिन्। उनले चुनावको समयमा सुरक्षा बलहरु तैनाथ गरिने जानकारी पनि गराएकी छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande