
गान्तोक, 27 मार्च (हि.स.)। रामनवमीको शुभ अवसरमा जनतालाई ठूलो राहत प्रदान गर्दै इन्धन एक्साइज ड्युटीमा भारी कटौती गरेर निर्णायक र नागरिक केन्द्रित निर्णय लिएकोमा भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाले प्रदेश एकाई र सिक्किमका जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीप्रति गहिरो आभार व्यक्त गरेका छन्।
उनले पश्चिम एसियामा जारी तनावका कारण कॉंचो तेलको मूल्य बढेर प्रति ब्यारेल लगभग 70 डलरदेखि लगभग 122 डलर पुगेको आज जारी प्रेस बयानमा बताएका छन्। विश्वव्यापी कॉंचो तेलको मूल्यमा वृद्धिको सामना गरिरहेको अवस्थामा केन्द्र सरकारले पेट्रोल एक्साइज ड्युटी प्रति लिटर 13 रूपियॉंबाट 3 रूपियॉंमा घटाएको छ र डिजल शुल्क पूर्ण रूपमा 10 रूपियॉंबाट शून्य गरेको उनले जानकारी गराएका छन्।
प्रदेश भाजपा अध्यक्षले दक्षिणपूर्व एसिया, उत्तर अमेरिका, युरोप र अफ्रिकाका धेरै देशहरूले इन्धनको मूल्यमा 20 देखि 50 प्रतिशत वृद्धि गरिरहेको छ भने प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले आम नागरिकलाई थप कठिनाइबाट जोगाउन स्वयंले बोझ वहन गर्ने निर्णय लिएको जनाएका छन्। केन्द्रको यो साहसिक कदमले रूस-युक्रेन द्वन्द्वपछि विश्वव्यापी मूल्यमा हुने घटबढबाट जनतालाई बचाउने सरकारको नीतिलाई निरन्तरता दिएको उनले बताएका छन्। उनले डिजल र एटीएफमा निर्यात शुल्क लगाउनाले घरेलु उपलब्धतालाई अझ सुनिश्चित गर्ने र नाफाखोरीलाई रोक्ने दाबी गरेका छन्।
अध्यक्ष थापाले यस समयसापेक्ष हस्तक्षेपको सराहना गर्दै यसले सिक्किमको घरपरिवार, ट्रान्सपोटर र सम्पूर्ण अर्थतन्त्रलाई उल्लेखनीय राहत प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। केन्द्रको यस निर्णयले 'सबका साथ, सबका विकास, सबका विश्वास' प्रति प्रधानमन्त्रीको अटल प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल