
खरसाङ, 27 मार्च (हि.स.)। तीनधारे महानदी समष्टि अन्तर्गत घुम्ती चिया बगानमा अवस्थित माता सिंह देवीको मन्दिरमा विगत वर्षहरू झैं यस वर्ष पनि चैत्र नवरात्रि अनि रामनवमीजो पूजा अनुष्ठान सम्पन्न गरिएको छ। यस पूजाको आरम्भ विगत 19 मार्चदेखि भएको थियो भने आज, शुक्रवार समापन गरिएको छ।
यो मन्दिर लगभग 150 साल पुरानो रहेको जानकारी प्राप्त भएको छ। मन्दिरमा सातवटा देवी देवता क्रमैले सिंह देवी, जल देवी, कालिका देवी, संसारी देवी, नाग बहिनी, बुढेनी अनि सहस्त्र देवी विराजमान रहेको स्थानीयहरुले बताएका छन्। भक्तजनको भनाई अनुसार, यस मन्दिरमा पूजा अर्चना गरेपछि सबैको मन्नत पूरा हुने गर्दछ।
घुम्ती गाउँदेखिमाथि अलगै ढुङ्गाको चट्टानमा यो मन्दिर एकदमै स्वच्छ स्थानमा अवस्थित रहेको छ। भक्तजनले यस मन्दिरलाई देखेर आश्चार्य मान्ने गर्दछन्, किनकि यसको प्राकृतिक बनावट अलग्गै छ। प्रसार प्रचारको कमीका कारण मन्दिरमा स्थानीय भक्तजनबाहेक बाहिरको भक्तजनको संख्या त्यति देखिॅंदैन।
शुक्रवार पूजाको अन्तिम दिन स्थानीय भक्तजनको निकै भीड देखियो। सालबारी निवासी पण्डित कृष्ण सापकोटाले नौ दिन नौ माताको पूजा अर्चना गरे। आठौँ दिनमा माताको नाममा लाख बत्ती अर्पण गरियो भने अन्तिम दिन हवन अनि नौजना बालिकाहरूलाई भोजनसहित पूजा अर्चना गरिएको थियो।
हिन्दुस्थान समाचार / हनोक