
खरसाङ, 27 मार्च (हि.स.)। श्री राम जन्मोत्सव शोभायात्रा आयोजक समिति खरसाङको आयोजनामा यसपाली खरसाङमा विराट श्री राम नवमी शोभायात्रा निकालियो। उक्त राम नवमी शोभायात्रा आज खरसाङको मोटर स्ट्याण्डबाट शुरू भएर हिल कार्ट रोड हुँदै खरसाङ बजार परिक्रमा गरेपछि अस्पताल मोड भएर वर्द्धमान रोड हुॅंदै पुनः मोटर स्ट्याण्डमा आएर समाप्त भयो।
यस श्री राम नवमी शोभायात्रामा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। त्यसरी नै पूर्व सांसद शान्ता छेत्री, सभासदहरु श्याम शेर्पा, नुरी शेर्पा, खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। शोभायात्रामा खरसाङ क्षेत्रका सबै मन्दिरहरुका प्रमुख साथै विभिन्न संघ संस्थाहरु र जात गोष्ठीका प्रतिनिधिहरु पनि सहभागी बनेका थिए।
शोभायात्रामा श्री राम जन्मोत्सवलाई लिएर विभिन्न झाँकीहरु पनि प्रदर्शनी गरिएको थियो। शोभायात्रा शुरु हुन अघि उक्त झाँकीहरुलाई मानव उत्थान सेवा समिति खरसाङकी अध्यक्षा असीमा बाईजी र ब्रह्मकुमारी खरसाङकी प्रमुख सञ्चालिका बीके दुर्गादेवीको बाहुलीबाट पूजा गरियो।
आयोजक समितिका अध्यक्ष रमेश प्रसाद गत वर्ष झैं यस वर्ष पनि खरसाङमा श्री राम नवमीको अवसरमा विराट शोभायात्रा आयोजना गरिएको जानकारी गराए। उनले यो राम जन्मोत्सव शोभायात्रा कुनै राजनैतिक नभएर यो पूर्ण रूपमा धार्मिक कार्यक्रम रहेको स्पष्ट पारेका छन्। उनले यस विराट शोभायात्रामा उपस्थित सबैप्रति आभार प्रकट गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक