
मङ्गन, 27 मार्च (हि.स.)। सिक्किम इन्स्पायर्स पहल अन्तर्गत जिल्ला प्रशासनिक केन्द्र, मङ्गनद्वारा फिल्म निर्माण र सङ्गीतमाथि आयोजित दुई दिने मास्टरक्लास आज जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा शुरु भयो। यो सत्र मङ्गन जिल्ला प्रशासनको पहिलो चरणको पहल 'लाइट्स, क्यामेरा, मङ्गन' (अल्टिमेट कन्टेन्ट क्रिएसन च्यालेन्ज) पछि आयोजना गरिएको हो, जसले आकांक्षी क्रिएटर्सका लागि परामर्श, बजार सम्बन्ध, सरकारी सहयोग र मान्यतालाई सहज बनाउने लक्ष्य लिइएको छ।
मास्टरक्लास फिल्म निर्माता र गायक-गीतकार अन्मोल गुरुङद्वारा सञ्चालन गरिँदैछ, जसले सहभागीहरूलाई फिल्म निर्माण र सङ्गीतका आधारभूत कुराहरू मार्फत मार्गदर्शन गरिरहेका छन्। उद्घाटन सत्रमा आज जिल्लापाल अनन्त जैन मुख्य अतिथिका रूपमा उपस्थित थिए। यसैगरी, मङ्गनका एडीएम पेमा वाङ्छेन नामकर्पा, एसडीएम सन्दीप कुमार, एडी आईटी मुक्सम लिम्बू, विद्यार्थीहरू, कला र सङ्गीत व्यवसायिकहरू, कन्टेन्ट क्रिएटर तथा फिल्म र सङ्गीत उत्साहीहरू पनि उपस्थित थिए।
जिल्लापाल जैनले आफ्नो संक्षिप्त सम्बोधनमा सहभागीहरूलाई बहुमूल्य कौशलहरूले सुसज्जित र सशक्त बनाउने उद्देश्यले आयोजित यस कार्यक्रमको अधिकतम सदुपयोग गर्न आग्रह गरे। एडीएम नामकर्पाले सिक्किम इन्स्पायर्स कार्यक्रम अन्तर्गत जिल्ला प्रशासनको पहलमाथि प्रकाश पारे। एसडीएम कुमारले सहभागीहरूलाई आफ्नो सम्बोधनमा सिक्किम इन्स्पायर्स अन्तर्गत जिल्ला प्रशासनको पहल 'लाइट्स, क्यामेरा, मङ्गन' ले स्थानीय क्षेत्रहरूलाई प्रवर्द्धन गर्ने र स्थानीय प्रतिभा प्रदर्शन गर्ने बताए।
फिल्म निर्माता अन्मोल गुरुङले आफ्नो सत्रका क्रममा फिल्म निर्माण र छायाङ्कनको आधारभूत विषयहरूमाथि बोल्दै दृश्यावलोकन, रचनात्मक अभिव्यक्ति र आफ्नै मूल्यको पहिचानमा जोड दिँदै साझा कथाहरू मार्फत सहभागीहरूलाई संलग्न गराए। उनले आधारभूत छायाङ्कन प्रविधि, कथा कथन र अभिनयका तत्वहरू पनि सुलभ र आकर्षक तरिकाले प्रस्तुत गरे।
उल्लेखनीय छ, अप्रेलको पहिलो हप्ता दोस्रो चरणको पहल कन्टेन्ट क्रिएटर्स च्यालेञ्ज सञ्चालन गरिनेछ। दुई दिने मास्टरक्लासको उद्देश्य सहभागीहरूलाई कन्टेन्ट क्रिएटर्स च्यालेञ्जबाट अधिकतम फाइदा लिन सीपहरू प्रदान गर्नु रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल