विद्या भारती सिक्किमको रजत जयन्ती समारोह सम्पन्न
विद्या भारती सिक्किमको रजत जयन्ती समारोह सम्पन्न


विद्या भारती सिक्किमको रजत जयन्ती समारोह सम्पन्न


विद्या भारती सिक्किमको रजत जयन्ती समारोह सम्पन्न


- विद्यार्थीहरूका लागि मूल्य आधारित शिक्षा अत्यन्त आवश्यक: सोनाम भेञ्चुङ्गपा

 
- विद्या भारतीले भारत केन्द्रित शिक्षा प्रदान गरिरहेको छ: गोबिन्द चन्द्र महन्ता

गान्तोक, 27 मार्च (हि.स.)। विद्या भारती सिक्किमले आफ्नो स्थापनाको गौरवशाली 25औं वार्षिकोत्सवको अवसरमा आज रजत जयन्ती समारोह आयोजन गऱ्यो। रानीपुल नजिक मार्चकस्थित कृषि केन्द्रिय विश्वविद्यालयको सभागारमा आयोजित समारोहमा विधायक सोनाम भेञ्चुङ्गपा मुख्य अतिथि तथा विद्या भारतीका अखिल भारतीय संगठन मन्त्री गोबिन्द चन्द्र महन्ता विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

मुख्य अतिथि विधायक भेञ्चुङ्गपाले आफ्नो सम्बोधनमा विद्या भारती सिक्किमको गौरवशाली रजत जयन्ती समारोहमा सहभागी बन्ने निम्तो दिएकोमा आभार प्रकट गरे। विद्या भारतीले शिक्षाको क्षेत्रमा गर्दै आएका कार्यहरूको सराहना गर्दै उनले विद्यार्थीहरूलाई मूल्य आधारित शिक्षा अत्यन्त आवश्यक रहेको बताए। उनले मूल्य आधारित शिक्षालाई कम्पाससॅंग तुलना गर्दै जसरी कम्पासले दिशा देखाउने काम गर्दछ त्यसरी नै मूल्य आधारित शिक्षाले पनि विद्यार्थीहरूलाई जीवनमा सही दिशा प्रदान गर्नेछ भनी बताए।

अर्कातिर, मुख्य अतिथि भेञ्चुङ्गपाले आफ्नो सम्बोधनको क्रममा भारतमा विश्व गुरु बन्ने क्षमता रहेको र विश्व गुरु अवश्य बन्ने विश्वास व्यक्त गरे। सिक्किम सरकारले शिक्षाको क्षेत्रमा गरिरहेका कार्यहरूमाथि प्रकाश पार्दै उनले विद्यार्थीहरूलाई सरकारका योजनाहरूबाट लाभ उठाउन आह्वान पनि गरे।

विशिष्ट अतिथि संगठन मन्त्री गोबिन्द चन्द्र महन्ताले विद्या भारतीका गतिविधिहरूमाथि प्रकाश पार्दै विद्या भारती अन्तर्गत देशभरि सञ्चालित विद्यालयहरूमा 36 लाखभन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेको जानकारी गराए। उनले 1952 मा स्थापित विद्या भारतीले भारत केन्द्रित शिक्षा प्रदान गरिरहेको अवगत गराए। देशले हामीलाई सबै कुरा प्रदान गर्दछ भने हामीले पनि देशलाई केही दिनुपर्छ भन्ने सोंचका साथ विद्या भारतीले देशको लागि शिक्षा प्रदान गर्ने काम गरिरहेको बताए।

संगठन मन्त्री महन्ताले अनुशासित जीवनका लागि मनोवैज्ञानिक शिक्षाको आवश्यकतामा जोड दिॅंदै विद्या भारतीले आफ्ना विद्यार्थीहरूलाई सोही शिक्षा प्रदान गरिरहेको बताए। यस अतिरिक्त, उनले राष्ट्रिय शिक्षा नीति 2020 अन्तर्गत देशमा भारत केन्द्रित शिक्षा प्रदान गर्ने व्यवस्था शुरू गरिएको बताउॅंदै विद्या भारतीले विगत 74 वर्षदेखि भारत केन्द्रित शिक्षा नै प्रदान गर्दै आएको बताए। उनले यो शिक्षा नीतिलाई नानीहरूको समग्र विकासको आधार बताउॅंदै आज विश्वव्यापी रूपमा यस शिक्षा नीतिको प्रशंसा भइरहेको बताए।

कार्यक्रममा मुख्य अतिथि र विशिष्ट अतिथिको बाहुलीद्वारा आचार्य-आचार्या प्रशिक्षण शिविरका स्रोत वक्ताहरू, विद्या भारतका विभिन्न विद्यालयका प्रधानाचार्यहरू र पूर्व विद्यार्थीहरू, विशिष्ट अतिथिहरू, विद्यालयका शिक्षकहरू, एसएमसीका सदस्यहरू, संस्थापक सदस्यहरू र जग्गादाताहरूलाई सम्मानित गरियो। यस अवसरमा मुख्य अतिथि र विशिष्ट अतिथिलाई पनि सम्मानित गरिएको थियो।

विद्या भारती अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरूले एकीकृत नृत्य, मारुनी नृत्य, देशभक्ति नृत्य, नेपाली परम्परागत नृत्य, भोटिया, लिम्बू नृत्यहरू प्रस्तुत गरेका थिए। विद्या ज्योति एकेडेमी, बिजनबारीका विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएको ब्याण्ड प्रदर्शनले सबैको ध्यान आकर्षित गऱ्यो।

समारोह समितिका अध्यक्ष हरि शंकर शर्माले स्वागत सम्बोधन र प्रधानाचार्य रणजीत प्रधानले धन्यवाद ज्ञापन प्रस्तुत गरेको कार्यक्रममा अतिथिहरूको बाहुलीद्वारा रजत जयन्ती वर्ष समारोह विशेषाङ्क (स्मारिका) पनि विमोचन गरियो। समारोहमा सिक्किम लगायत दार्जिलिङ र कालेबुङबाट पनि विद्या भारती परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande