
कोलकाता, 01 अप्रेल (हि.स.)। भवानीपुर विधानसभा क्षेत्रबाट तृणमूल कंग्रेसकी उम्मेद्वार ममता ब्यानर्जीले आगामी 8 अप्रेलको दिन आफ्नो नामांकन पत्र दर्ता गराउन सक्नेछन्। पार्टी सूत्रानुसार उनले कालीघाटस्थित आफ्नो आवासबाट ऱ्याली निकालेर गोपालनगर सर्वे भवनसम्म जान सक्नेछन् जहाँ उनले नामांकन दर्ता गराउनेछन्।
भनिन्छ, यस ऱ्यालीमा तृणमूल कंग्रेसका प्रदेश अध्यक्ष सुब्रत बख्शी, कोलकाताका मेयर तथा राज्यका नगरविकास मन्त्री फिरहाद हकिम (बबी) औ दक्षिण कोलकाता तृणमूलका अध्यक्ष देवाशिष कुमार पनि उपस्थित रहने सम्भावना छ। यस अतिरिक्त भवानीपुर क्षेत्रका सबै तृणमूल पार्षदहरू पनि यस दिन उपस्थित हुनसक्ने प्रबल सम्भावना रहेको छ।
यसबीच भारतीय जनता पार्टी (भाजपा)-का नेता शुभेन्दु अधिकारीले पहिलाबाटै भवनीपुरमा चुनाउ प्रचार शुरू गरिसकेका छन्। तथापि ममता ब्यनर्जीले आफ्नो निर्वाचन क्षेत्रमा अहिलेसम्म औपचारिक रूपमा प्रचार शुरू गरेकी छैनन्। पार्टी सूत्रको भनाइ छ, उनले नामांकन पत्र दर्ता गरेपछि तृणमूल कंग्रेसले भवानीपुरमा पूर्ण शक्ति खन्याएर प्रचार अभियान आरम्भ गर्नेछ। विभिन्न वार्डहरूमा भिन्न-भिन्नै ऱ्याली तथा बैठकहरू आयोजना गरिनेछ। पार्टीका अन्य शीर्ष नेताहरूले पनि उनको समर्थनमा चुनाउ प्रचार गर्न सक्नेछन्।
तृणमूल कंग्रेसले विशेष गरी वार्ड संख्या- 73 मा ध्यानकेन्द्रित गरिरहेको छ। बारतीय संविधानका निर्माता भीमराव अम्बेडकरको जयन्ती आगामी 14 अप्रेलको दिन यस वार्डमा पहिलो चुनावी सभा आयोजना गर्नसक्छ। त्यसपछि चुनाउ प्रचारको अन्तिम दिनसम्म यस क्षेत्रमा लगातार ऱ्याली, सभा आदि गरिनेछ।
हाल भवानीपुरमा संगठनात्मक गतिविधिहरूलाई सशक्त बनाउनेमाथि बल दिइँदैछ जसको तयारीमा स्थानीय तृणमूल नेताहरू जुटिसकेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा