
गान्तोक, 01 अप्रेल (हि.स.)। सिक्किममा पहिलो चरणको जनगणना 2027 औपचारिक रूपमा शुरू गरिएको छ। राजधानीको सम्मान भवनमा आज आयोजित एक कार्यक्रममा केन्द्रिय गृह मन्त्रालयले जनगणना सञ्चालन निर्देशालय, सिक्किमको संयुक्त तत्वावधानमा जनगणना शुरू गरियो। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशेष रूपमा उपस्थित थिए।
जनगणना सञ्चालन निर्देशालय, सिक्किमका निर्देशक कर्मा आर बोन्पोले आफ्नो सम्बोधनमा पहिलो चरणको जनगणना 2027 अन्तर्गत स्वयं गणना कार्यक्रमको बारेमा जानकारी गराउॅंदै मुख्यमन्त्रीलाई समर्थनको लागि धन्यवाद दिए। उनले यो एक राष्ट्रव्यापी पहल रहेको बताए, जसबाट प्राप्त तथ्याङ्क नीति निर्माण र योजना तयार गर्नमा सहायक हुनेछ। उनले सङ्कलन गरिएको तथ्याङ्कले केन्द्र र राज्य दुवैका लागि नीतिहरूको आधारको रूपमा काम गर्ने बताए। उनले नागरिकहरूलाई सहयोगका लागि आह्वान गर्दै अनलाइन पोर्टल se.census.gov.in को बारेमा जानकारी गराए।
कार्यक्रममा आईपीआर विभागकी सचिव अन्नपूर्ण आले, मुख्यमन्त्री कार्यालयका सचिव कर्म नामग्याल भोटिया, प्रधान जनगणना अधिकारी एवं जिल्लापाल तुषार निखारे, जिल्ला जनगणना अधिकारी एवं एडीसी सिसुम वाङचुक भोटिया आदि पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल