
मङ्गन, 01 अप्रेल (हि.स.)। मङ्गन नगर पञ्चायत चुनाउमा सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का पॉंचै जना उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्। आज सम्पन्न भएको मनोनयन पत्र जॉंचमा सबै उम्मेदवारहरूको मनोनयन स्वीकृत भएको छ।
मङ्गन नगर पञ्चायत चुनाउका उम्मेदवारहरूको मनोनयन पत्र जॉंच आज मङ्गनस्थित जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। जिल्ला चुनाउ अधिकारी अनन्त जैन र चुनाउ पर्यवेक्षक किन्चो डोमा लेप्चाको उपस्थितिमा सबै उम्मेदवारहरूको मनोनयन पत्र जॉंच गरियो। यस क्रममा सबै उम्मेदवारहरूको मनोनयन पत्र जिल्ला चुनाउ अधिकारीले स्वीकृत गरेको छ।
मङ्गन नगर पञ्चायत अन्तर्गत पॉंचवटा वार्डका लागि एसकेएम पार्टीका उम्मेदवारहरूले मात्र मनोनयन पत्र बुझाएका थिए। मनोनयन पत्र स्वीकृत हुनसाथ सबै उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्। यद्यपि, मनोनयन पत्र फिर्ता लिने अन्तिम मिति आगामी 4 अप्रेल रहेको छ।
एसकेएम पार्टीको तर्फबाट मङ्गन नगर पञ्चायतको अप्पर मङ्गन बजार वार्डका लागि छिरिङ पिन्चो सारिङ, पेन्टोक वार्डका लागि फुर्कित लेप्चा, पावर कलोनी वार्डका लागि नर्बु रिन्छेन लेप्चा, नामग्याल मार्ग वार्डका लागि हाङ्गु लाचेनपा र लोवर मङ्गन बजारको लागि छिरिङ डोमा भोटियाले मनोनयन पत्र बुझाएका थिए।
हिन्दुस्थान समाचार / बिशाल