
गान्तोक, 15 अप्रेल (हि.स.)। देशका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिवसीय सिक्किम भ्रमणमा आउने भएका छन्। पहिलो दिन प्रधानमन्त्रीले राजधानीमा एक रोड शोमा भाग लिनेछन् भने दोस्रो दिन पाल्जोर स्टेडियममा एक जनसभालाई सम्बोधित गर्नेछन्। उक्त जानकारी आज मुख्यमन्त्री प्रेमसिंह तामाङले दिएका हुन्। उनी राजधानीको मनन केन्द्रमा आयोजित अङ्ग्रेजी दैनिक सिक्किम एक्सप्रेसको स्वर्ण जयन्ती समारोहमा मुख्य अतिथिका रूपमा बोल्दै थिए।
मुख्यमन्त्री तामाङले निर्धारित तालिका परिवर्तन नभए अथवा मौसम अनुकूल रहे प्रधानमन्त्री नरेन्द्र मोदी आगामी 27 अप्रेलका दिन सिक्किम आउने जानकारी गराए। उनले सोमवार दिउॅंसो तीन बजी प्रधानमन्त्रीको हेलीकप्टरमा यहॉंको लिबिङस्थित सेनाको हेलीप्याडमा अवतरण गर्ने बताए। यसपछि, प्रधानमन्त्रीले लोकभवनसम्म आयोजना गरिने एक रोड शोमा पनि भाग लिने उनले बताए।
मुख्यमन्त्रीले रोड शोका लागि सिक्किम सरकारले सम्पूर्ण तयारी गरिसकेको बताए। उनले सिक्किमवासीहरूलाई उक्त दिन दिउॅंसो दुई बजी राजधानीमा एकत्रित भएर प्रधानमन्त्रीलाई भव्य स्वागत जनाउन आह्वान गरे। प्रधानमन्त्री त्यस दिन राजधानीमा बस्नेछन् भने 28 अप्रेलका दिन पाल्जोर स्टेडियममा आयोजना गरिने एक कार्यक्रममा भाग लिने पनि उनले जानकारी गराए। उनले देशको 22औं राज्य र सबैभन्दा कम जनसंख्या भएको राज्यमा देशका प्रधानमन्त्री आउनु भनेको राज्यवासीहरूका लागि ठूलो गर्वको कुरा रहेको बताए।
यस अघि, उनले प्रधानमन्त्री मोदीको गत वर्ष 29 मईमा सिक्किम भ्रमण निर्धारित रहे तापनि मौसम प्रतिकुल रहेकाले आउनु नसकेको अवगत गराए। त्यस समय प्रधानमन्त्रीले बागडोगराबाटै सिक्किमवासीहरूलाई सम्बोधन गरेको पनि उनले स्मरण गराए। तर, आफुले प्रधानमन्त्रीलाई दुई पटक भेट गरेर व्यक्तिगत रूपमा उपस्थिति र सिक्किमवासीहरूलाई आशीवार्द दिन अनुरोध गरेपछि हालै प्रधानमन्त्रीको कार्यक्रम निर्धारित भएको उनले जानकारी गराए।
हिन्दुस्थान समाचार / बिशाल