भाजपालाई गोर्खाहरुको भोट महत्त्वपूर्ण छैन: अनित थापा
अनित थापा


खरसाङ, 15 अप्रेल (हि.स.)। गृहमन्त्री अमित शाह आज दार्जिलिङ नआएको विषयमा प्रतिक्रिया दिॅंदै जीटीए प्रमुख अनित थापाले यो कुरा नयाँ होइन भन्दै यसरी पहाडका जनतालाई झुक्याउने बानी बसेको आरोप लगाएका छन्।

थापाले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, 'गृहमन्त्री अमित शाह पहाड नआउनु नयाँ कुरा होइन। किनभने पहिले पनि कतिपल्ट यस्तो भएको हो। आज त मौसम पनि राम्रो थियो। उहाँ पहिले पनि आउँछु भनेर नआएकै हो। उहाँहरुलाई झुक्याएर भोट माग्ने बानी बसेको छ। भोट पनि पाइरहेका छन्।'

उनले अझ भने, 'मैले बारम्बार भन्दै आएको छु कि भारतीय जनता पार्टीले बंगाल विभाजन हुँदैन भनेको छ। तर यहाँका लिडरहरुले आफ्नै लिडरले भनेको सुन्दैनन्।' अनित थापाले अघि भने, 'हामीले भाजपालाई भोट मात्र दिन्छौँ, तर भाजपाले केही पनि दिएको छैन। भाजपालाई गोर्खाहरुको भोट महत्त्वपूर्ण छैन, तर पनि भाजपालाई भोट दिन्छौं। भाजपालाई गोर्खाहरुको भोट महत्त्वपूर्ण भएको भए केही दिने थियो। तर केही दिनु त होइन, यहाँ आउनु पनि मानेका छैनन्न।'

उनले इण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेदवार बन्दना राईको कन्वोयमाथि भएको हमलामाथि बोल्दै भने, 'यस घटनामा पुलिसले अविलम्ब कारबाही गर्दै दोषीलाई पक्राउ गरेको छ र यसको लागि पुलिस प्रशासनलाई धन्यवाद छ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande