
गोलाघाट (असम), 16 अप्रेल (हि.स.)। गोलाघाट जिल्लान्तर्गत बोकाखात क्षेत्रमा कथित रूपमा एकजना व्यक्तिले नशामा चुर भएर आफ्नै घरमा आगो लगाएको घटना प्रकाशमा आएको छ। पुलिस आरोपीको खोजीमा जुटेको छ।
असमिया नव वर्षको पहिलो महिना वैशाखको पहिलो दिन अर्थात गए बुधवार राती बोकाखातमा एक भयानक आगलागी भएको घटना प्रकाशमा आएको छ। यो आगो बोकाखात नगरपालिकाको 9 नम्बर वार्डको पूर्व ज्योतिपुर मोहमाइकी गाउँमा लागेको हो। पारिवारिक कलहको कारणले मातेका भाइटी राजोवा नामक व्यक्तिमाथि आरोप लागेको छ, उसले आफ्नी पत्नीलाई कुटपिट गरेर घरबाट निकालेपछि घरमा आगो लगायो।
स्थानीय गाउँ रक्षक दलले बतायो, राजोवाले आफ्नो घरमा आगो लगाएपछि घटनास्थलबाट भाग्यो। सूचना पाउनसाथ तुरून्त घटनास्थलमा पुगेको पोकाखात पुलिस र अग्निशमन विभागको टीमले आगोलाई नियन्त्रण गऱ्यो। तर त्यसबेलासम्ममा घर पूर्ण रूपले जलिसकेको थियो। यस घटनामा कुनै पनि प्रकारको ज्यानहानि भएको समाचार प्राप्त भएको छैन। पुलिसले आरोपीलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा