
गोलाघाट (असम), 16 अप्रेल (हि.स.)। गोलाघाट जिल्ला अधिनस्थ देरगाउँको धरमपुर गाउँमा अवस्थित नामघर (पूजा स्थल)-मा गए राती चोरी भएको घटना प्रकाशमा आएको छ। घटनालाई लिएर स्थानीय मानिसहरूले व्यापक रोष व्यक्त गरेका छन्। सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले घटनास्थलको निरीक्षण गरी चोरहरूलाई खोज्न जुटेको छ।
पुलिस सूत्रले बताएको छ, गए राति देरगाउँमा एउटा सनसनीपूर्ण चोरीको घटना घट्यो। देरगाउँको राजस्व चक्र अन्तर्गत मिठामरा मौजाको धरमपुर गाउँस्थित नामघरमा चोरहरूको गिरोहले लुटपाट मचायो।
नामघरको गुरु आसनमा राखिएका सुन-चाँदीका गहना, नगद राशि तथा दानपात्रलाई लिएर चोरहरूले सुइँकुच्चा ठोके। नामघरका नामघरिया (पुजारी) आज बिहान साफ-सफाई गर्नको लागि भित्र पस्दा उनले पूजास्थलको ढोकाको केही भाग भत्केको देखे। चोरहरूले पैसा खोज्दा नामघरको कीर्तनका पुस्तकहरूलाई समेत बाँकी राखेनन्।
नामघरका नामघरियाले बताए, गए बुधवार अबेर साँझ दीप जलाउन आउँदा सबै कुरा ठिकै थिए। यसको तुरून्तपछि यो घटना भएको हुनसक्छ। बिहूको दिन भएको यस चोरीको घटनाबाट गाउँमा भय व्याप्त भएको छ। देरगाउँ पुलिसले हरिमन्दिरमा पुगेर जाँच शुरू गरेको छ। पुलिसले गाउँका मानिसहरूलाई आश्वस्त पारेको छ, चोरहरूलाई चाँड़ै पक्राउ गरिनेछ। घटनाको सम्बन्धमा नामघरियाले प्राथमिकी दर्ता गराएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा