
कोलकाता, 16 अप्रेल (हि.स.)। पश्चिम बंगालमा आगामी दुई चरणमा हुने विधानसभा चुनाउलाई पूर्ण रूपले निगरानी गर्नको लागि भारत निर्वाचन आयोगले ठूलो फसेला गरेको छ। आयोगले संवेदनशील मतदान केन्द्रहरूमा तीन वटा अनि सामान्य मतदान केन्द्रहरूमा दुई वटा सीसीटीभी क्यामरा जड़ान गर्ने निर्णय लिएको छ।
पश्चिम बंगालको मुख्य निर्वाचन अधिकारी कार्यालयसित सम्बन्धित सूत्र अनुसार संवेदनशील मतदान केन्द्रहरूमा जड़ान गरिने तीन वटा सीसीटीभी क्यामरामध्ये दुई वटा क्यामरा मतदान केन्द्रभित्र अनि एउटा बाहिर जड़ान गरिनेछ। यसरी नै सामान्य मतदान केन्द्रहरूमा एउट क्यामरा भित्र र एउटा बाहिर जड़ान गरिनेछ।
यी सबै क्यामराहरूलाई जिल्ला नियन्त्रण कक्षसित जोड़िनेछ जुन सम्बन्धित जिल्लाका जिल्लाधिकारीहरूको कार्यालयमा हनेछ। यसको साथै यी क्यामराहरूलाई कोलकातास्थित मुख्य निर्वाचन अधिकारी कार्यालयको केन्द्रिय नियन्त्रण कक्षसित पनि जोड़िनेछ।
अधिकारीहरू अनुसार यी क्यामरा आर्टिफिशियल इन्टेलिजेन्स आधारित हुनेछन्। यदि कुनै मतदान केन्द्रमा अनधिकृत मानिसहरूको भीड़ वा अनियमित गतिविधि भयो भने यसको सूचना तुरून्तै जिल्ला तथा केन्द्रिय नियन्त्रण कक्षले पाउनेछ।
यी क्यामराहरूको व्यवस्था यसरी गरिनेछ कि मतदान केन्द्रभित्रको सम्पूर्ण गतिविधिको 360 डिग्री दृश्य उपलब्ध हुनसकोस्।
अत्यधिक संवेदनशील मतदान केन्द्रहरूमा मतदान प्रक्रियाको निगरानी गर्नको लागि विशेष भिडीयो ग्राफरहरूलाई तैनाथ गर्ने निर्णय पनि लिइएको छ। यस अतिरिक्त केन्द्रिय सशस्त्र पुलिस बलको क्विक रेस्पोन्स टीमका वाहनहरूमा जीपीएस ट्र्याकर जड़ान गरिनेछ ताकि मतदानको दिन उनीहरूको गतिविधिमाथि निरन्तर नजर राख्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा