
गान्तोक, 16 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री प्रेमसिंह तामाङको एआईद्वारा बनाइएको र रूपान्तरित छवि सामाजिक सञ्जालमा अपलोड गरेर प्रसार गरेको आरोपमा नाम्ची पुलिस थानामा प्राथमिकी दर्ता भएको छ। नाम्ची जिल्लाको कटेङ-पामफोक जीपीयू निवासी स्थानीय एक युवकले उक्त फोटो बनाएर आफ्नो फेसबुक एकाउण्टमार्फत प्रसार गरेको आरोप छ।
नामथाङको करेक निवासी एक व्यक्तिले उक्त घटनालाई लिएर गत 9 अप्रेलका दिन लिखित रूपमा प्राथमिकी दर्ता गरेका थिए। उनले प्रधानमन्त्री र मुख्यमन्त्रीको एआईद्वारा बनाइएको र रूपान्तरित छवि भ्रामक क्याप्सनहरूका साथ सामाजिक सञ्जालमा अपलोड गरेको शिकायत गरेका छन्।
शिकायतकर्ताले आरोपीमाथि जनतामाझ गलत र भ्रामक जानकारी फैलाउने उद्देश्यले जानाजानी यस्तो बनावटी डिजिटल सामग्री सिर्जना र प्रसार गरेको आरोप लगाएका छन्। यो कार्य आम जनतालाई भ्रमित पार्न, सार्वजनिक शान्ति र सौहार्द भङ्ग गर्न तथा समाजभित्र अनावश्यक उत्तेजना सिर्जना गर्न जानाजानी गरिएको देखिन्छ भन्दै उनले आरोपी विरुद्ध कारबाहीको माग गरेका छन्।
नाम्ची पुलिसले आरोपी विरुद्ध भारतीय न्याय संहिता, 2026 को धारा 336 (4)/352/356 अन्तर्गत मामिला दर्ता गरी जॉंच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल