
गान्तोक, 17 अप्रेल (हि.स.)। उदीयमान कवि बिशाल दर्नालद्वारा रचित पहिलो कविता सङ्ग्रह “फुटस्टेप्स” बिहिबार साँझ गान्तोकमा औपचारिक रूपमा विमोचन गरियो, जसले उनको आशाजनक साहित्यिक यात्राको शुरुआतलाई संकेत गरेको छ।
बिशाल दर्नाल, जो एक समर्पित शिक्षाविद्, सङ्गीतप्रेमी तथा भावुक लेखकका रूपमा परिचित छन्, गान्तोकको रमणीय गाउँमा जन्मिएका कविको पहिलो किताब बुकान्टले बजारमा ल्याएको छ। उक्त कृति उनको पहिलो प्रकाशित कविता संग्रह हो, जसले उनको सृजनात्मक तथा बौद्धिक यात्रालाई प्रतिबिम्बित गर्दछ।
विमोचन समारोहमा प्रख्यात कवि टाशी छोपेल, कवि गुरु टी. लाद्दखी, पूर्व विधायक डीबी ठटाल, सिक्किम अकादेमीका अध्यक्ष तथा लेखक प्रवीण राई जुमेली, तथा लेखक प्रवीण खालिङ लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। साथै, अखिल सिक्किम अनुसूचित जाति संघका अध्यक्ष विकास सुनाम तथा कार्यसमिति सदस्यहरू र अखिल सिक्किम अनुसूचित जाति बोर्डका अध्यक्ष शेखर सेवा पनि कार्यक्रममा सहभागी थिए।
सिक्किम विश्वविद्यालयका प्राध्यापकहरू डा. आनन्द परियार, डा बिवेक तामाङ, राकेश बस्नेत, बिनोद क्षेत्री, र विक्रम थापाको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा बोजोघारी वरिष्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक शरद पौड्याल, मोडर्न वरिष्ठ माध्यमिक विद्यालयकी प्रधानाध्यापिका माला जिग्देल दोर्जी तथा विभिन्न विद्यालयका शिक्षकहरूको बाक्लो सहभागिता थियो।
कार्यक्रममा अंग्रेजी, नेपाली र हिन्दी भाषामा कविता वाचन गरिएको थियो, जसले बहुभाषिक तथा सांस्कृतिक विविधताको सुन्दर प्रस्तुति दिएको थियो। सरोजनी सुब्बा, प्रवीण खालिङ, दावा योन्जोन, नीलम गुरुङ, निशा क्षेत्री, सबिना राई, राकेश बस्नेत तथा स्वयं बिशाल दर्नालले आफ्ना रचनाहरू प्रस्तुत गरे।
काविता संग्रहको समीक्षा डा सत्यद्वीप छेत्री र डा. सुदर्शन तामाङले प्रस्तुत गर्दै यसको साहित्यिक गहिराइ र महत्वमाथि प्रकाश पारे।
कार्यक्रमलाई सम्बोधन गर्दै टाशी छोपेल र डीबी ठटालले युवा कविको प्रयासको प्रशंसा गर्दै उनलाई निरन्तर साहित्यिक क्षेत्रमा योगदान दिन प्रेरित गरे।
कार्यक्रम नयाँ लेखकप्रति कृतज्ञता र उत्साह व्यक्त गर्दै सम्पन्न भयो, जसले “फुटस्टेप्स” को सफल विमोचनसँगै एउटा उल्लेखनीय साहित्यिक यात्राको शुरूआत गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल