मुख्यमन्त्री नारी शक्ति वन्दन अधिनियम पारित हुन नसकेकोमा निराश
मुख्यमन्त्री नारी शक्ति वन्दन अधिनियम पारित हुन नसकेकोमा निराश


गान्तोक, 17 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले नारी शक्ति वन्दन अधिनियम लोकसभामा पारित हुन नसकेकोमा दु:ख प्रकट गरेका छन्। उनले विपक्षीहरू निर्दयी राजनीतिमा संलग्न रहेको आरोप पनि लगाएका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल मञ्च फेसबुक पोस्टमा भनेका छन्, 'हाम्रो देशभरिका लाखौं महिलाहरूको आशा र आकांक्षाका बावजुद पनि नारी शक्ति वन्दन अधिनियम लोकसभामा पारित हुन नसकेकोमा म अत्यन्तै निराश छु।'

उनले आज सिक्किमभरि हाम्रा आमा, दिदीबहिनी र छोरीहरू ठूलो संख्यामा एकसाथ आएर यस ऐतिहासिक सुधारको समर्थनमा आफ्नो आवाज उठाएको बताएका छन्। उनीहरूको एकताले समानता, मर्यादा र प्रतिनिधित्वमा शक्तिशाली विश्वासलाई प्रतिबिम्बित गरेको उनले उल्लेख गरेका छन्।

मुख्यमन्त्रीले विपक्षीहरू निर्दयी राजनीतिमा संलग्न रहेको आरोप पनि लगाएका छन्। उनले भनेका छन्, 'उनीहरूले महिला आरक्षणमा अवरोध पुर्‍याइरहेका छन्, किनभने उनीहरूलाई थाहा छ कि महिला आरक्षण विधेयक ल्याउने श्रेय कसलाई दिइनेछ।' विपक्षीहरूले आफ्नो कार्यको लागि यस देशका महिलाहरूको क्रोधको सामना गर्नुपर्नेछ भनी उनले बताएका छन्।

मुख्यमन्त्रीले राजनीतिक विचारका कारण यस्तो परिवर्तनकारी अवसर रोकिनु दुर्भाग्यपूर्ण हो भनेका छन्। यो केवल गुमेको अवसर मात्र नभई यो अनगिन्ती महिलाहरूको सपनामा पनि ठेस रहेको बताएका छन्।

मुख्यमन्त्रीले भने, 'हामी प्रतिबद्ध छौं। महिलाहरूको आवाजलाई दबाउन सकिँदैन, र उनीहरूको आकांक्षाले हामीलाई अझ न्यायपूर्ण र सशक्त भारततर्फ डोऱ्याइरहनेछ।'

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande