
सिलगढ़ी, 17 अप्रेल (हि. स.)। चुनाउ आयोगको कड़ाईबीच पश्चिम बंगाल विधानसभा चुनाउको पहिलो चरण सम्पन्न हुन एक साताअघि ठूलो कारबाही भएको छ। नाका जाँचमा एउटा ट्याक्सीबाट दश लाख रुपियाँ नगद जफत गरिएको छ।
प्रशासनबाट प्राप्त जानकारी अनुसार आगामी 23 अप्रेलका दिन सम्पन्न हुन गइरहेको पहिलो चरणको मतदानलाई मध्यनजर गर्दै सिलगढ़ी लगायत सम्पूर्ण उत्तर बंगालमा सुरक्षाको कड़ा बन्दोबस्त गरिएको छ। शहरका विभिन्न भागहरूमा लगातार नाका चेकिंग तथा सीसीटीभीको माध्यमबाट निगरानी गरिँदैछ। यसै क्रममा गए अबेर राती सालुगढ़ादेखि चेकपोस्ट तर्फ आइरहेको एउटा संदिग्घ ट्याक्सीलाई रोकेर जाँच गरियो जसमा वाहनको पछिल्लो सीटमा राखिएको ब्यागबाट 500 रुपियाँको नोटको दश बण्डल भेटियो। हरेक बण्डलमा एक लाख रुपियाँ थियो।
यो कारबाही चुनाउ आयोगको एसएसटी (स्ट्याटिक सर्भिलान्स टीम)-ले पुलिस र केन्द्रिय बलहरूको उपस्थितिमा गरेको हो। वाहनमा उपस्थित व्यक्तिसित उक्त नगद रुपियाँको सम्बन्धमा वैध दस्तावेज र उपयोगको विवरण माग्दा उसले सन्तोषजनक जवाफ दिन सकेन।
स्मरण गराइन्छ, आदर्श आचार संहिता लागू भएपछि वैध दस्तावेज बिना 50 हजार रुपियाँभन्दा अधिक नगद लिएर यात्रा गर्नु नियमविरूद्ध छ। यस्तो मामिलामा चुनाउ आयोगद्वारा कड़ा कारबाही गरिन्छ।
प्रारम्भिक जाँचमा आशंका व्यक्त गरिँदैछ, उक्त नगदको उपयोग चुनावी प्रक्रियालाई प्रभावित पार्नको लागि गर्न सक्थ्यो। मामिलाको अग्रिम जाँचको लागि सम्बन्धित व्यक्तिलाई जलपाईगुड़ी जिल्ला प्रशासनको मनिटरिंग टीम समक्ष पेश हुने निर्देश दिइएको छ जहाँ उसले नगदसित सम्बन्धित दस्तावेज र स्पष्टिकरण दिनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा