
गान्तोक, 17 अप्रेल (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको चालक परिषदको एक महत्वपूर्ण बैठक आज राजधानीस्थित पार्टी मुख्यालयमा सम्पन्न भयो। चालक परिषदको उपाध्यक्ष, प्रभारी बिनोद गुरुङको अध्यक्षतामा बसेको बैठकमा परिषदका अध्यक्ष आशिष राई, पाकिमका जिल्ला अध्यक्ष जोह्ना राई, नाम्चीका जिल्ला अध्यक्ष सन्तोष राई आदि उपस्थित थिए।
सीएपी चालक परिषदले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, बैठकले राज्यभरि बिग्रँदै गएको सडक अवस्थाप्रति गम्भीर र चिन्ता व्यक्त गर्यो, जसले दैनिक यातायातमा बाधा पुर्याउनुका साथै हजारौं चालकहरूको जीविकोपार्जनलाई प्रत्यक्ष रूपमा खतरामा पारेको छ। सिक्किमको कनेक्टिभिटी र पर्यटन अर्थतन्त्रको मेरुदण्ड रहेका चालकहरू उपेक्षित पूर्वाधारका कारण कठिनाइमा धकेलिएका छन्। परिषदले मनसुन शुरु हुनुभन्दा अगाडि नै सडक मर्मत गर्न तत्काल उपायहरू अपनाउन सम्बन्धित अधिकारीहरूलाई आग्रह गरेको छ।
छलफलको प्रमुख मुद्दा अवैध र अनियमित पार्किङ शुल्क सङ्कलन रहेको बताइएको छ। परिषदका अध्यक्ष आशिष राईले यस्ता अभ्यासहरूको कडा निन्दा गर्दै अनधिकृत सङ्कलन विरुद्ध कडा कारबाहीको माग गरे। उनले उच्च क्षेत्रहरूमा पैह्रो र भारी हिमपातका कारण हालै भएका संकटहरूमा चालकहरू र फसेका पर्यटकहरूलाई सहयोग गर्न भारतीय सेना, मङ्गन र गान्तोक जिल्ला प्रशासनहरूको द्रुत र प्रशंसनीय प्रतिक्रियाको लागि आभार व्यक्त गरे।
सभाध्यक्ष गुरुङले चालकहरूको कल्याण, अधिकार र मर्यादाप्रति पार्टीको अटल प्रतिबद्धतालाई पुन: पुष्टि गरे। उनले चालक समुदायको साथमा पार्टी दृढतापूर्वक उभिएको छ भन्दै अर्थपूर्ण र दिगो समाधान प्राप्त नभएसम्म हरेक मञ्चमा उनीहरूको चिन्तालाई उठाउन जारी राख्ने बताए।
हिन्दुस्थान समाचार / बिशाल