
खरसाङ, 17 अप्रेल (हि.स.)। गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा गत पहिलो वैशाखको दिन आयोजित सांस्कृतिक शोभायात्रा तथा सम्बर्द्धना कार्यक्रम सफल भएको दाबी गर्दै संस्थानले सहभागी सबैलाई धन्यवाद दिएको छ।
शुक्रवार खरसाङमा आयोजित पत्रकार सम्मेलनमा संस्थानकी अध्यक्षा आशा मुखिया लामा लगायत अन्य पदाधिकारीहरूले पहिलो वैशाखको अवसरमा आयोजित सांस्कृतिक शोभायात्रा तथा सम्बर्द्धना कार्यक्रममा सहभागी बन्ने खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरु र प्रतिनिधिहरु धन्यवाद ज्ञापन गरेका छन्।
संस्थानकी अध्यक्षा लामाले सबैको सहयोग, साथ र सहभागिताले कार्यक्रम सफल भएको बताइन्। उनले गत वर्षहरु झैं यसपाली पनि वृहत् रुपमा मानिसहरुले सहभागिता जनाएर कार्यक्रम सफल बनाई दिएकोमा सबैप्रति आभार प्रकट गरिन्। उनले आगामी वर्ष पनि विभिन्न सांस्कृतिक शोभायात्राका साथमा विभिन्न कार्यक्रमहरु आयोजना गरिने बताइन्। उनले यसपाली चुनाउको माहोल र व्यस्तताबीच पनि सबैको सहभागिताले कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गरेकी छन्।
उल्लेखनीय छ, गत पहिलो वैशाखको अवसरमा गोर्खा सांस्कृतिक संस्थान् खरसाङले सांस्कृतिक शोभायात्रा साथै सम्बर्द्धना कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सिक्किमका पद्यश्री वरिष्ठ लोक संगीतकार नरेन गुरुङ, सिक्किमका वरिष्ठ लोक साहित्यकार शंकरदेव ढकाल, सारंगी वादक प्रेम गन्धर्व र आशा प्रधान आदिलाई सम्बर्द्धना जनाइएको थियो।
हिन्दुस्थान समाचार / हनोक