
खड़गपुर, 18 अप्रेल (हि.स.)। देशकै प्रतिष्ठित तकनिकी संस्थान भारतीय प्रौद्योगिकी संस्थान खड़गपुर (आईआईटी खड़गपुर)-मा फेरि एक पटक एक जना छात्रको रहस्यमय मृत्यु भएको मामिला उजागार भएको छ। म्याकेनिकल/म्यान्युफ्याक्चरिंग इञ्जीनियरिंग विभागको तेस्रो वर्षका छात्र जयबीर सिंह दरिया (21)- को होस्टल परिसरमा कुनै अग्लो ठाउँबाट झरेर मृत्यु भएको हो। मृत छात्र गुजरातको अहमदाबाद निवासी थिए। घटनापछि सम्पूर्ण क्याम्पसमा शोक अनि चिन्ताको वातावरण छाएको छ।
पुलिस एवं संस्थानको सूत्र अनुसार शनिवार बिहान क्याम्पस स्थित अटल बिहारी वाजपेयी हल सामु छात्रको रगताम्मे शरीर लड़िरहेको थियो। सबैभन्दा पहिला क्याम्पसका सुरक्षा कर्मीहरूले उसलाई देखे अनि तत्कालै आईआईटी प्रशासनलाई सूचना दिए। पछि खबर पाएर पुलिस पनि घटनास्थलमा पुग्यो। छात्रलाई अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।
मामिलाको जाँच गरिरहेको हिजली पुलिसको टीमले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। प्रारम्भिक जाँचमा आशंका व्यक्त गरिँदैछ कि छात्र होस्टलको माथिल्लो तला वा भवनको छतबाट तल झरेको वा हाम फालेको हुनसक्छ। यसको स्पष्ट कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन।
पुलिसले क्याम्पसको सीसीटीभी फुटेजलाई पनि आफ्नो कब्जामा लिएको छ र यो पत्तो लगाउने चेष्टा गरिरहेको छ कि घटना घट्दा छात्र एक्लै थिए वा अन्य पनि उपस्थित थिए।
स्मरण गराइन्छ, पछिल्लो 16 महिनामा भारतीय प्रौद्योगिकी संस्थान खड़गपुर परिसरमेो यो आठौं असामान्य मृत्यु रहेको बताइँदैछ भने यीमध्ये अधिकांश घटना क्याम्पसभित्रै भएको थियो जसले गर्दा विद्यार्थीहरूको सुरक्षा र मानसिक स्वास्थ्यलाई लिएर पुनः प्रश्नहरू उठ्न थालेका छन्।
हाल पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ। पोस्टमर्टम रिपोर्ट आएपछि नै मृत्युको वास्तविक कारण को खुलासा हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा