
कोलकाता, 18 अप्रेल (हि.स.)। वैशाख लाग्न साथ दक्षिण बंगालमा गर्मीको प्रभाव तीव्र हुन थालेको छ। चर्को घाम र आद्रताले मानिसहरूको समस्या बढ़ाइरहेको छ। अलिपुर मौसम विभागले बताएको छ, दक्षिण बंगालका विस्तृत क्षेत्रहरूमा तापमान अझ बढ़्नसक्छ। तथापि शनिवार दक्षिण बंगालका पाँच वटा जिल्लाहरूमा हावा-हुन्डरी तथा वर्षा हुने सम्भावना छ। उत्तर बंगालमा पनि वर्षा जारी रहनसक्छ।
मौसम विभाग अनुसार कोलकाता, हावड़ा तथा हुगली जस्ता जिल्लाहरूमा हाल पानी पर्ने सम्भावना छैन। यी क्षेत्रहरूको मौसम शुष्क रहनेछ। शनिवार पूर्व बर्धमान, पश्चिम बर्धमान, बीरभूम, मुर्शिदाबाद औ नदियामा कतै-कतै मेघ गर्जनसितै पानी पर्नसक्छ। यी जिल्लाहरूमा कालबैशाखी जस्तो हुरी आउने आशंका छ। हावाको गति 30-40 किलोमीटर प्रतिघण्टा रहनसक्छ।
आइतवारदेखि यी जिल्लाहरूमा फेरि गर्मी र आद्रता बढ़्ने सम्भावना छ। पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया, बाँकुड़ा र पश्चिम बर्धमानको लागि सतर्कता जारी गरिएको छ।
मौसम विभागले बतायो, उत्तर बिहारदेखि दक्षिण छत्तिसगढ़सम्म झारखण्डको माथिबाट एउटा द्रोणिका रेखा विकसित भएको छ। यस अतिरिक्त उत्तर तटीय ओडिशा र यस परवरका क्षेत्रहरूमा एउटा चक्रवाती परिसंचरण सक्रिय भएको छ। पश्चिम र उत्तर-पश्चिम दिशाबाट बीच-बीचमा शुष्क हावा बगिरहेको छ। यसको प्रभावले आइतवारदेखि आगामी बिहीवारसम्म दक्षिण बंगालका अधिकांश बागहरूमा गर्मी र आद्रतापूर्व मौसम कायम रहनेछ। बीच-बीचमा कतै-कतै मेघ गर्जनसितै पानी पर्नसक्छ।
उत्तर बंगालमा अहिलेघरि वर्षाको सिलसिला जारी रहनेछ। शनिवार दार्जीलिङ र जलपाईगुड़ीमा घना वर्षा हुने सम्भावना छ भने अन्य जिल्लाहरूमा मेघ गर्जनसितै छुटपुट पानी पर्नसक्छ। यहाँ हावाको गति 40-50 किलोमीटर प्रतिघण्टासम्म पुग्नसक्छ। हावा-हुन्डरी र वर्षाले गर्दा उत्तर बंगालको तापमान बढ़्ने सम्भावना छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा