मिरिकमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको परिवर्तन यात्रासॅंगै चुनावी जनसभा सम्पन्न
मिरिकमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको परिवर्तन यात्रासितै चुनावी जनसभा सम्पन्न


मिरिक, 18 अप्रेल (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) ले आज मिरिकमा परिवर्तन यात्राको साथमा चुनावी जनसभाको आयोजना गरेको छ। उक्त परिवर्तन यात्रा भागोप्रमोको खरसाङ विधानसभा समष्टिका उम्मेदवार अमर लामाको पक्षमा निकालिएको थियो। परिवर्तन यात्रापछि चुनावी जनसभा पनि आयोजना गरियो।

भागोप्रमोले आजदेखि मिरिकबाट परिवर्तन यात्राको नाममा ऱ्याली शुरु गरेको छ। यसैगरी, भागोप्रमोले मिरिकमा सर्वप्रथम आफ्नो चुनाउ घोषणा पत्र जारी गरेको छ। उक्त चुनाउ घोषणा पत्र भागोप्रमो अध्यक्ष अनित थापा र खरसाङ विधानसभा समष्टिका उम्मेदवार अमर लामाले संयुक्त रुपमा जारी गरे।

त्यसपछि मिरिकको थर्बु बाइपासदेखि ऱ्याली आयोजना गरियो र मिरिक बजार परिक्रमा गरेपछि एक चुनावी जनसभामा परिणत भयो। सभासद ध्रुव बम्जनले अध्यक्षता गरेको जनसभामा अनित थापा प्रमुख अतिथि थिए।

चुनावी जनसभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै भागोप्रमो अध्यक्ष थापाले यसपाली भागोप्रमोले पहाडका तीनवटै विधानसभा सिट जित्ने दाबी गरे। उनले यसपाली पहाडमा चुनावी माहोल एकदमै राम्रो रहेको र चुनाउलाई जनताले उत्सवको रूपमा लिएको बताए। उनले पहाडवासीहरू भोट हाल्न उत्साहित रहेको बताए।

जनसभालाई भागोप्रमो अध्यक्ष अनित थापा, मिरिक नगरपालिकाका चेयरम्यान एवं हिल तृणमूल कांग्रेसका चेयरम्यान एलबी राई, नारी शक्ति दार्जिलिङकी महासचिव सुष्मा राई र खरसाङ विधानसभा समष्टिका उम्मेदवार अमर लामाले सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande