
गान्तोक, 22 अप्रैल (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेश एकाईले प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी भ्रमण (२७ र २८ अप्रेल) को तयारीलाई सुव्यवस्थित गर्न आज एक व्यापक राज्यस्तरीय समन्वय बैठक सफलतापूर्वक आयोजना गर्यो। यस बैठकको अध्यक्षता भाजपा प्रदेश प्रभारी डा. दिलीप जयसवालले गरे। उनले योजनाबद्ध कार्यक्रमहरूका लागि दिशा-निर्देश दिए।
यस बैठकमा प्रदेश अध्यक्ष डीआर थापा, मुख्य सल्लाहकार छितेन टाशी भोटिया, उपाध्यक्षहरू एनके सुब्बा, गिरिश चन्द्र राई, भरत दुलाल र याप छिरिङ भोटिया, महासचिवहरू डीसी नेपाल र अर्जुन राई आदि उपस्थित थिए।
भाजपा सिक्किमले आज प्रेस बयानमा भनेको छ, छलफलका क्रममा नेतृत्वहरूले प्रधानमन्त्रीको भ्रमणलाई सिक्किम राज्यका लागि अत्यन्त गर्व र सम्मानको विषय बताए। बैठकमा प्रत्येक नागरिक तथा पार्टी कार्यकर्तालाई यस ऐतिहासिक क्षणमा उत्साहपूर्वक सहभागी हुन आह्वान गर्यो ताकि प्रधानमन्त्रीको भ्रमणको सफलता सुनिश्चित गर्न सकियोस्।विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्री नरेन्द्र मोदीको आगमन हाम्रो राज्यका लागि एक महत्त्वपूर्ण उपलब्धि हो। यस आनन्दको अवसरलाई उत्साहपूर्वक मनाउनु र सिक्किमको शक्ति तथा संस्कृतिलाई प्रस्तुत गर्नु हाम्रो संयुक्त कर्तव्य हो। भाजपा सिक्किमले सबै प्रोटोकल र कार्यक्रमहरू निर्बाध रूपमा सम्पन्न गर्न प्रदेश सरकारसँग पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यस बैठकले राज्यको विकासका लागि स्पष्ट मार्गचित्र पनि प्रस्तुत गरेको बताइएको छ। भाजपा सिक्किमले राज्यका जनतालाई वृद्धि, सुरक्षा र समृद्धि ल्याउने अध्यायको साक्षी बन्न आह्वान गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल