
खरसाङ, 22 अप्रेल (हि.स.)। भोलि, 23 अप्रेलका दिन हुने विधानसभा चुनाउको लागि खरसाङ विधानसभा समष्टिका विभिन्न बुथहरुमा मतदान कर्मीहरु प्रस्थान गरेका छन्। खरसाङ विधानसभा समष्टिका लागि मुख्य स्थल खरसाङको सन्त अल्फन्सेस विद्यालयबाट सबै बुथहरुमा मतदान कर्मीहरु प्रस्थान गरिसकेका छन्।
बुधबार बिहानदेखि नै सन्त अल्फन्सेस विद्यालयमा भेला भएर मतदान कर्मीहरु विभिन्न स्थानहरुमा प्रस्थान गरेका छन्। यसपाली खरसाङ विधानसभा समष्टिमा 296 पुलिङ बुथ र 6 वटा अग्जीलेरी गरी जम्मा जम्मा 305 वटा बुथहरु छन्। प्रत्येक बुथमा एकजना प्रिसाइडिङ अफिसर, फर्स्ट पोलिङ अफिसर, सेकेण्ड पोलिङ अफिसर र थर्ड पोलिङ अफिसरसहित जम्मा 4 जना चुनाउ कर्मीहरु तैनाथ छन्।
खरसाङ विधानसभा समष्टिमा जम्मा 17 वटा बुथहरुलाई संवेदनशील बुथको रुपमा चिन्हित गरिएको छ। यसका साथै एउटा बुथमा बंगाल पुलिस एकजना, 4 जना केन्द्रिय बलका जवानहरु गरेर एउटा बुथमा जम्मा 5 जना सुरक्षाकर्मीहरु तैनाथ गरिएको जानकारी प्राप्त भएको छ।
खरसाङ विधानसभा समष्टिमा 20 वटा बुथहरु यस्ता छन् जसमा केवल महिला मतदान कर्मीहरु तैनाथ रहेका छन्। बंगाल विधानसभा चुनाउको पहिलो चरणको शान्तिपूर्ण मतदानको लागि कडा सुरक्षा व्यवस्था गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक