
गान्तोक, 22 अप्रेल (हि.स.)। वुमन अन् विल्स (एक्सपीरियन्स नर्थ-इस्ट) का दुई महिला प्रतिभागी छिरिङ डोमा शेर्पा र सोनाम शेर्पासँग मुख्यमन्त्री प्रेमसिंह तामाङले शिष्टाचार भेट गरेका छन्। महिला प्रतिभागीहरूसंग मिन्तोकगाङस्थित आफ्नो सरकारी निवासमा आज भेट भएको मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा जानकारी गराएका छन्।
मुख्यमन्त्रीले छिरिङ डोमा शेर्पा र सोनाम शेर्पासँग भेट भएको जनाउँदै उनी दुई लगायत रञ्जीता थापाले आगामी 24 अप्रेलदेखि 3 मईसम्म आयोजना हुने वुमन अन् विल्स (एक्सपीरियन्स नर्थ-इस्ट) मा भाग लिइरहेकोमा खुशी व्यक्त गरेका छन्।मुख्यमन्त्रीले भने, वुमन अन् विल्स महिलाको सशक्तीकरण, आत्मनिर्भरता र आत्मविश्वास अभिवृद्धि गर्ने एक विशेष पहल हो, जसले ड्राइभिङ र यात्रामार्फत महिलालाई प्रेरित गर्दछ। यस कार्यक्रमले देशभरका महिलाहरूलाई एकै ठाउँमा ल्याई विभिन्न क्षेत्रहरूको अन्वेषण गर्न, सांस्कृतिक सम्बन्धलाई मनाउन र परम्परागत लैङ्गिक भूमिकाहरूलाई चुनौती दिन अवसर प्रदान गर्दछ। साथै, यसले सडक सुरक्षाबारे सचेतना फैलाउने र यातायात तथा साहसिक क्षेत्रमा महिलाको बढ्दो सहभागितालाई उजागर गर्ने काम पनि गर्दछ।
मुख्यमन्त्रीले सरकार महिलाहरूको प्रयासलाई समर्थन गर्न र विभिन्न पहलहरूमा उनीहरूको सहभागिता बढाउन प्रतिबद्ध रहेको बताएका छन्। उनले प्रतिभागी महिलाहरूलाई सुरक्षित, समृद्ध र प्रेरणादायी यात्राको लागि शुभकामना व्यक्त गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल