
नाम्ची, 28 अप्रेल (हि.स.)। रालोङस्थित देन्सा पाल्छेन छोलिङ गुम्पामा आज गोश्री ग्यालत्सब रिम्पोछेको जन्मदिन समारोह आयोजन गरियो। यस शुभ अवसरमा मुख्यमन्त्रीको तर्फबाट उनकी धर्मपत्नी सारदा तामाङ र धर्म विभागका मन्त्री सोनाम लामा सहभागी भए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको औपचारिक संलग्नताका कारण मुख्यमन्त्री कार्यक्रममा उपस्थित हुन सकेनन्।
कार्यक्रममा गुम्पाको तर्फबाट मुख्यमन्त्री प्रेमसिंह तामाङलाई गुम्पाप्रतिको उनको अटल र उदार सहयोगको कदर गर्दै अभिनन्दन गरियो। श्रीमती तामाङले मुख्यमन्त्रीको पक्षमा रिम्पोछेको बाहुलीबाट अभिनन्दन ग्रहण गरिन्।
कार्यक्रममा रालोङको पाल्छेन छोलिङ गुम्पामा नयाँ मोनास्टिक विद्यालय र सभागार निर्माणका लागि ग्यालत्सब्पा त्रिदाना च्यारिटेबल ट्रस्टलाई आर्थिक सहयोगको रूपमा एक करोड र पचास लाख रूपियॉंको दुईवटा चेक प्रदान गरियो। कार्यक्रममा टिकुला, क्षेत्र विधायक रिसल दोर्जी भोटिया, विधायक आदित्य गोले, प्रभाकर गोले तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल